कृषि यान्त्रिकरणमा जोड गर्दै भरतपुर महानगर, महानगरले किसानलाई दियो धान रोप्ने अत्याधुनिक मेसिन

प्रकाश सिग्देल

आइतबार, १३ असार २०७८, १६ : २४
कृषि यान्त्रिकरणमा जोड गर्दै भरतपुर महानगर, महानगरले किसानलाई दियो धान रोप्ने अत्याधुनिक मेसिन

चितवन । भरतपुर महानगरले कृषि यान्त्रिकरणमा जोड दिन थालेको छ स्मार्ट सिटीको अवधारणा संगै कृषि कर्ममा पनि प्रविधिको प्रयोगलाई बढवा दिन महानगर अग्रसर भएको हो ।

प्रविधिको प्रयोगबाट कम लागतमा धेरै उत्पादन लिने गरी महानगरले चक्लाबन्दि गरी सामुहिक खेतीमा जोड दिएको छ । किसानलाई प्रविधिमार्फत कृषि कर्ममा अगाडि बढाउने र कृषि कर्ममा हुने लागत घटाएर किसानलाई कृषि कर्मबाट उचित लाभ लिन सकिने वातावरण सृजना गर्न भरतपुर महानगर प्रमुख रेनु दाहाल निरन्तर लागि रहेकी छीन् ।

महानगर भित्रका किसानलाई  कृषि उपकरणहरु वितरण गर्ने कृषिमा अनुदान दिने देखि दुधमा अनुदान दिने कार्यक्रम महानगरले गरिरहेको छ । यी संगै कृषिमा यान्त्रिकरण कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छि व्यवसाय प्रर्वद्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन (राईस टान्सप्लान्टर ) किसानलाई हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा बृहश्पती आधुनिक एग्रो फर्मलाई १ वटा मेसिन हस्तान्तरण गरिएको हो । भरतपुर महानगर २६ को दिव्यनगरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेनु दाहालले सो मेसिन एग्रो फर्मलाई हस्तान्तरण गरिन् । हस्तान्तरण संगै मेयर दाहाल र उपमेयर ठकुरीले मेसीन मार्फत खेतमा धान रोपेका थिए ।

चितवन अन्न उत्पादनका हिसावले धेरै उर्वर रहेको र यहाँ धान रोप्ने अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गर्न पाउदा आफुलाई धेरै खुसि लागेको मेयर दाहालको भनाई थियो । आगामी दिनमा पनि कृषिमा आधुनिकिकरण र यान्त्रिकरण प्रयोग गरी लागत घटाउने र उत्पादन बढाउने कामका लागि आफ्नो टिमले धेरै कामहरु गर्ने दाहालको भनाई थियो ।

महानगर सधै कृषकको साथमा रहेको बताउदै दाहालले यो वर्षबाट दुध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैया अनुदान समेत दिने निर्णय भएको बताईन् ।
२२ लाख ५० हजार मा खरिद गरीएको सो मेसीनले धान रोप्दा लागत आधा घट्ने बताईएको छ । मानिसको प्रयोग बाट १ बिगाहामा रोपाई गर्दा १५ हजार बढि खर्च हुने र मेसिन मार्फत रोपाई गर्दा ७ देखी ८ हजार भन्दा बढि लागत नपर्ने कृषिविज्ञ मित्रराज दवाडीले बताए ।

मेसिन मार्फत रोप्दा एक लाईन देखी अर्को लाईनको दुरी एकरुपता हुने, बोट देखी बोटको दुरी मा पनि एकरुपता हुने हुँदा विरुवा एकनाससंग आउने र रोग किरा नियन्त्रण गर्न सजिलो हुने उनको भनाई छ । अत्याधुनिक सो मेसिनले घोल तथा ढाव खेतमा पनि सजिलै धान रोप्न सकिने भएकाले यो मेसिन निकै उपयोगी हुने दवाडीको भनाई छ । यो मेसिन भरतपुर महाननगरमा पहिलो पटक भित्राईएको बताउदै दवाडीले अरु थप ३ वटा मेसिन मगाउन सके चितवनमा धान रोपाईमा समस्या नहुने बताए ।   
 

प्रतिक्रिया दिनुहोस