रास्वपा महाधिवेशन सकियो, अब मनोनयनको खेल : रविले कसलाई खोल्लान् चिठ्ठा ?

सफल खबर संवाददाता

बुधबार, १७ असार २०८३, १५ : ५७
रास्वपा महाधिवेशन सकियो, अब मनोनयनको खेल : रविले कसलाई खोल्लान् चिठ्ठा ?

काठमाडौं । सरकार चलाईरहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सकिएको छ। सभापति चुनिइसके, ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भइसकेको छ, केही सिमित पदाधिकारीको प्रत्यक्ष निर्वाचन पनि टुंगिएको छ। असार १७ गते (आज) नवनिर्वाचित नेतृत्वले शपथ खाइसके । निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक समेत घण्टीघरमा बसिसकेको छ । 

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको सबैभन्दा रोचक राजनीतिक खेल भने अब सुरु हुँदैछ। प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछानेबीच शक्ति टकराव कुनै न कुनै बाहानामा देखिन सक्ने रास्वपाभित्रकै धेरै नेता कार्यकर्तालाई लागेको छ । सोहीकारण पनि मनोनित हुने पदाधिकारीमा सभापति लामिछानेले रणनीतिक पावर कार्ड प्रयोग गर्नसक्ने आंकलन हुन थालेको छ ।  

पार्टीभित्रको शक्ति सन्तुलन, समूह व्यवस्थापन, एकताको सन्देश र भविष्यको नेतृत्वको संकेत दिनसक्ने गरी यी सबैको जिम्मा र सन्तुलन मिलाउनु पर्ने जिम्मेवारी रास्वपाभित्र एउटै व्यक्तिको काँधमा पुगेको छ– सभापति रवि लामिछानेको काँधमा। रास्वपाको केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन। विधानअनुसार सभापतिले वरिष्ठ नेतासहित ११ जना पदाधिकारी, ३१ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ। यसैकारण अहिले रास्वपा वृत्तमा एउटै प्रश्न घुमिरहेको छ, सभापति रवि लामिछानेले टिम कसरी बनाउँछन् अनि कस्ता पात्रलाई रोज्छन् ?

महाधिवेशनअघि भएको सहमतिअनुसार प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेता बन्ने लगभग निश्चित मानिएको छ। तर त्यसपछि मनोनित उपसभापति, मनोनित महामन्त्री, प्रवक्ता, सहप्रवक्ता, सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क कसलाई मनोनित गर्लान् ? भन्ने चासोको विषय बनेको छ । भरतपुरमा सम्पन्न महाधिवेशनबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री प्रत्यक्ष निर्वाचित भइसकेका छन्। तीमध्ये अधिकांश सभापति रवि लामिछानेनिकट मानिन्छन् भने बालेन समूहबाट अहिले प्रधानमन्त्रीको मुख्य सल्लाहकार रहेका असीम शाह मात्र सहमहामन्त्रीमा निर्वाचित भएका छन्। रविनिकट नेताहरूका अनुसार, मनोनयनको मुख्य उद्देश्य निर्वाचनमा नआएका तथा एकता–समायोजनबाट आएका नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिनु हुनेछ। सकेसम्म 'एक व्यक्ति, एक जिम्मेवारी' को सिद्धान्त अपनाउने तयारी पनि छ।

उपसभापतिमा लम्साल कि गुरुङ ?

सबैभन्दा धेरै चासो उपसभापति पदमा देखिएको छ। प्रधानमन्त्री बालेनसँगै रहेका दुई मन्त्री अहिले उक्त पदको आकांक्षी छन् । पूर्वाधारमन्त्री सुनिल लम्साल र गृहमन्त्री सुधन गुरुङ दुबै मनोनित हुने उपसभापतिको सबैभन्दा बलियो दाबेदार देखिएका छन् । दुबै मन्त्रीले चितवन महाधिवेशनमा केन्द्रीय समितिका कुनै पनि पदमा उम्मेदवारी नै दिएका थिएनन । 

प्रधानमन्त्री बालेन्द्र शाह लम्साल र गुरुङमध्ये लम्साललाई उपसभापति बनाउन चाहान्छन् । यो पदमा रविसँग बालेनले चितवन महाधिवेशनकै क्रममा समति जुटाईसकेको रास्वपाका एक विश्वासिला नेताले सफलखबरसँग बताए । 

रविले लम्साल र गुरुङ दुवैलाई मिल्न भनेपनि रविसँग भने लम्साललाइृ उपसभापति बनाउन भित्री सहमति गरिसकेको स्रोत बताउँछ । रास्वपाको अर्को प्रभावशाली पद महामन्त्री हो। एक महामन्त्रीमा विपिन आचार्य निर्वाचित भइसकेका छन्। अब बाँकी एक पदमा मनोनित गर्ने ब्यवस्था रास्वपाको विधानले गरेको छ । यो पदमा पनि बालेन समुहले आफना टिमका नेता ब्यवस्थापन गराउन चाहेको छ । बालेन समूहका भूपदेव शाह महामन्त्री बन्न चाहिरहेका छन् । 

तर रविमाथी उपसभापति वा महामन्त्री मध्ये एउटा मनोनित पदमा मात्रै बालेन समुहलाई दिएर अर्काे पदमा भने आफु निकट नेतालाई नै जिम्मेवारी तोक्न दवाव छ । उपसभापति लम्साल र महामन्त्रीमा शाह मनोनितमा परेभने दुवै पद बालेनको निकट नेताको हातमा जाने र क्रमशः पार्टीभित्र बालेनसमुह हावी हुनसक्ने भन्दै रवि पक्षका नेताहरुले रविमाथी एक पद आफ्नो टिमका नेतालाई दिन दवाव बढ्न थालेको छ । 

त्यस्तै रास्वपाको अर्काे आर्कषक पदाधिकारीको पद हो – पार्टी प्रवक्ता । यस अगाडी यो पदको जिम्मेवारी मुकुल ढकाल रास्वपा महामन्त्री हुँदासम्म प्रवक्ताको जिम्मेवारी पनि उनैले सम्हालेका थिए । जव ढकाल रास्वपाबाट बाहिरिए त्यसपछि मनिष झाले प्रवक्ताको पदको जिम्मेवारी पाएका थिए । झा यसपटक महामन्त्रीमा विपिन आचार्यसँग प्रतिस्पर्धामा थिए । उनले चुनाव जितेनन् । रविले उनलाई चाहेमा फेरि पनि प्रवक्ताको जिम्मेवारी दिनसक्थ्थे । तर उनले प्रवक्तामा अब आफु नबस्ने त्यसबेला नै बताईसकेका छन् । चुनाव हारेपछि विरक्तिएका झा आजै केही समयका लागि अमेरिका जाने तयारीमा छन् । 

रविको रोजाई अव सञ्चारकर्मी समेत रहेका नेता प्रमोद न्यौपानेतरि छ । पछिल्ला दुई वर्षदेखि रविसँग नजिक रहेर काम गरेपनि न्यौपाने पार्टीमा उपेक्षित हुँदै आएका छन् । प्रतिनिधिसभामा समानुपातिक सूचीमा रहेपनि उनको नाम बालेनले अर्काे एक सांसद बनाउन चाहेका कारण काटिएको थियो । पछि उनलाई राष्टिय सभामा लैजाने बताएपनि बालेनले शुशीला कार्की नेतृत्वको सरकारले गरेको सिफारिस समेत फिर्ता नलिएको र राष्टपतिले पनि स्वीकृत नगरेका कारण सरकारको सिफारिसमा मनोनित हुने एक सांसद कोटा रिक्त छ ।

त्यहाँ भनेपनि प्रमोदलाई रविले लान चाहेका थिए । तर त्यहाँ पनि बालेनका कारण सम्भव नभईरहेका बेला रविले अब प्रमोदलाई नै पार्टी प्रवक्ताको जिम्मेवारी दिन सक्ने बताइन्छ ।

महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई प्रमोदले पनि समर्थन गरेका थिए । 

कोषाध्यक्षमा भने पुरानै अनुहार दोहोरिन सक्ने संकेत छ। अघिल्लो कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेकी लीमा अधिकारीले यसपटक राजनीतिक भूमिकामा जाने इच्छा राखे पनि सभापति रविले उनलाई फेरि कोषाध्यक्षमै निरन्तरता दिन चाहेको चर्चा छ। यधपी लिमाले भने कोषाध्यक्षमा यसपटक अरु नै कोही पात्रलाई ल्याउन आग्रह गरेपनि रविको नजर उनैतिर रहेको बताइन्छ ।