काठमाडौं । नेपालमा केही दिनदेखिको अविरल वर्षका कारण आएको बाढीपहिरोका कारण विस्थापित भएकाहरूमा विभिन्न खालका सरुवा रोगको जोखिम हुने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजगता अपनाउन अपिल गरेको छ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस्थापित बस्तीमा सरसफाइ तथा स्वच्छ पिउने पानीको अभावमा झाडापखाला, आउँ, कोभिड–१९, लामखुट्टेको टोकाइबाट सर्ने अन्य रोगहरू फैलिन सक्ने भएकाले राहत वितरणमा खटिने सम्बन्धित प्रदेश तथा स्थानीय स्वास्थ्य कार्यालयहरूलाई सजग हुन आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार विस्थापित बस्तीमा लामखुट्टे, फोहोर र सफा खानेकुराको अभाव, गुजुमुज्ज बसाइ र फोहोर पानीका कारण हैजा, झाडापखाला रोग लाग्न सक्छ भने अन्य कीराहरूका कारण स्क्रबटाइफस, डेंगु, मलेरियाजस्ता रोग लाग्ने सम्भावना हुन्छ। यी संक्रामक रोग फैलिन नदिन सम्बन्धित निकायले बेलैमा औषधि, स्वच्छ पानी, शौचालय, झुललगायत अत्यावश्यक सामग्री व्यवस्थापन गर्नु जरुरी रहेको उनको भनाइ छ । ‘समयमै विभिन्न स्वास्थ्य कार्यालय र अन्य निकायले यी सामग्रीको व्यवस्थासहित राहत टोली जानुपर्छ,’ अधिकारीले भने।
मन्त्रालयले स्थलगत रूपमा घाइतेहरूको उपचार र राहत वितरणका लागि जाँदा जनस्वास्थ्यको मापदण्ड पालना, सफा पानीको प्रबन्ध गर्न निर्देशन दिएको छ। मन्त्रालयले यस विषम परिस्थितिमा सबै सरोकारवाला निकायलाई बाढीपहिरोबाट विस्थापितको उद्धारका लागि अपिल गरेको छ। सहप्रवक्ता अधिकारीका अनुसार बाढीपहिरोले कोभिड–१९ नियन्त्रण चुनौती बनेको र संक्रमण थप फैलिन सक्ने देखिन्छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता