सिन्धुपाल्चोक सधैं पहिरोको धरापमा

पत्रपत्रिकाबाट

विहीबार, ०३ असार २०७८, ०७ : ४८
सिन्धुपाल्चोक सधैं पहिरोको धरापमा

काठमाडौँ । सिन्धुपाल्चोक बाढीपहिरो र भूकम्पका घटनाबाट आक्रान्त बनेको छ । पछिल्लो दशकका हरेक वर्षात् दुःख, पीडा र त्रासमा गुज्रने गरेको छ । वर्षा हुनासाथ कति बेला कुन बस्ती र बजार पहिरोले थिच्छ, बाढीले बगाउँछ भन्ने चिन्ता जिल्लावासीमा सुरु हुन्छ ।

पहाडी भूभागमा पहिरो गएर सुनकोसी, इन्द्रावती, मेलम्ची, भोटेकोसी र ठाडा खोलानालामा जुनसुकै बेला बाढी आउन सक्छ । जोखिम न्यूनीकरणका लागि राज्यका तर्फबाट प्रभावकारी पहल भने हुन सकेको छैन ।

सिन्धुपाल्चोकमा भूकम्पका कारण सर्वाधिक धनजन क्षति भएको थियो । विज्ञहरूले त्यतिबेलै जोखिमयुक्त स्थान पहिचान गर्नुपर्ने सुझाव दिए पनि सरकारी निकायबाट खासै चासो दिइएन । भूकम्पका बेला जिल्लाको हिमाली भेगका डाँडामा जताततै पहिरो गएको थियो । जताततै जमिनमा धाँजा फाटेकाले वर्षात्मा तिनै स्थानमा पानी पसेर पहिरो गएको अनुमान स्थानीयले गरेका छन् ।

२०७२ पछि लगातार पहिरो गएकाले भूकम्पकै असर रहेको अनुमान विज्ञहरूको पनि छ । भूगर्भविद् नरेन्द्र खनाल भूकम्पका बेला मेलम्चीघ्याङको उत्तरतर्फ चार वटाभन्दा बढी पहिरो गएकाले त्यसको खतरा रहिरहेको बताउँछन् । यसपालिको पहिरो पनि सोही स्थानमा गएको हो । खनालले भूकम्पका कारण गएको पहिरोलाई बर्सेनि अनुगमन गरेर त्यसले पार्ने असर अनुमान लगाउन सकिने बताए ।

सिन्धुपाल्चोकमा गत वर्ष बाढीपहिरोले सर्वाधिक क्षति गरेको थियो । त्यतिबेलाका पीडितको बसोबासको व्यवस्थापन अझै हुन सकेको छैन । सरकारले विदेशी सहयोग जुटाउन बागलुङ र सिन्धुपाल्चोकलाई विपद् जोखिम संकटकाल क्षेत्र घोषणा गरे पनि त्यसअनुरूप काम देखिएको छैन ।

त्यतिबेला संघीय र प्रदेश सरकारले बाढीपहिरो नियन्त्रणका लागि थप संरचना निर्माण, विस्थापितको पुनःस्थापना, बस्ती स्थानान्तरण जस्ता विषयमा प्राथमिकता दिने जनाएका थिए । तर चालु वर्षमा बाढीपहिरो नियन्त्रणको कुनै पनि विशेष कार्यक्रम बनेन । विगतमा जसरी भूसंरक्षणका कार्यक्रम बन्थ्यो अहिले पनि त्यसैलाई निरन्तरता दिइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस