कोरोना संक्रमण दर घटेकै हो त ?

पत्रपत्रिकाबाट

विहीबार, ०३ असार २०७८, ०७ : १६
कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ ।

सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु भएको छ । हाल देशका ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, धनुषा, चितवन, सुर्खेतमा संक्रमण दर तुलनात्मक रूपमा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि, ती जिल्लामा पनि संक्रमितको संख्या क्रमिक रूपमा घट्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १५ हजार २ सय ३८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७ सय ४९, शुक्रबार १५ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा ५ हजार ५ सय ८४ जनामा संक्रमण देखिएको थियो ।

यस्तै गत शनिबार १४ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ । गत आइतबार १२ हजार ४ सय ६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ७, सोमबार १४ हजार ८ सय १९ जनाको कोरोना परिक्षण गर्दा २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १३ हजार २ सय ९० जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय ४५ जनामा संक्रमण देखिएको थियो । यस्तै, देशभर बुधबार २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पीसीआर र एन्टिजेन गरी १३ हजार २२ जनामा कोरोना परीक्षण गरिएको थियो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस