मनसुनजन्य विपद् : जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित

रासस

सोमबार, ३१ जेठ २०७८, १३ : ५४
मनसुनजन्य विपद् : जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित

काठमाडौं । नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनुभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ । मुलुक नै अहिले जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कतिपय जिल्लामा  वडास्तरीय रुपमै पहिराको जोखिम पहिचान गरी क्षति न्यूनीकरणका तयारी थालिएको छ । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको र स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा आवश्यक तयारी थालिसकिएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल गत सालको अनुभवको आधारमा समीक्षा गर्दै आगामी दिनका पूर्वतयारीका कार्यक्रम अपनाइएको बताउछन । “विगतमा बाढीको पूर्वतयारी राम्रो भए पनि पहिराको पूर्वतयारी प्रभावकारी नभएको पाइयो, चाहिने स्रोतसाधन जिल्लामा पुगेको पाइएन”, पोखरेलले भने, “अब त्यसलाई विशेष ध्यान दिएर तयारीका काम थालेका छौँ ।” बाढीमा जसरी पूर्वसूचना प्रणाली छ, अहिले पहिरोका लागि पनि पूर्वसूचना प्रणाली नमूनाका रुपमा नौ जिल्लामा लागू गर्न लागिएको उनले बताए ।

गत वर्ष अप्रत्यासित रुपमा आएको मनसुनजन्य विपद्बाट ४०० बढी मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । पहिरो मात्रै ४०० भन्दा बढी खसेको थियो । गत साल कतिपय क्षेत्रमा हेलिप्याडको व्यवस्था समेत नभएको अबस्थामा नेपालका सबै वडामा हेलिप्याड व्यवस्थापनमा समेत जोड दिइएको छ । विगतकै अनुभवको आधारमा अन्य उद्धार सामग्रीको व्यवस्थापनका लागि आधारभूत काम गरिएको छ । 

प्राधिकरणका अनुसार क्षति भएकाको हकमा विगत लामो प्रयासबाट पुनःनिर्माण र पुनःस्थापनाका कार्यक्रम तत्कालै शुरु गर्न सक्ने भएको छ । तथ्याङ्क विष्लेषणको आधारमा कसरी पूर्वतयारी गर्न सकिन्छ भनेर अन्तरक्रिया र छलफल चलाएर सुझाव समेत लिइएको छ ।

राहत तथा उद्धार सामग्री ठाउँठाउँमा पु¥याउन र तयारीमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री खगराज अधिकारीबाट स्पष्ट निर्देशन आएकाले सोहीअनुसार तयारीमा जुटेको पोखरेल सुनाउछन । 

प्रतिक्रिया दिनुहोस