युरो २०२० आजदेखि : युरोप कोरोनाबाट सुरक्षित छ भनेर देखाउन पनि प्रतियोगिता

उदघाटन खेलमा इटाली र टर्की भिड्दै

एजेन्सी

शुक्रबार, २८ जेठ २०७८, ०८ : ००
युरो २०२० आजदेखि : युरोप कोरोनाबाट सुरक्षित छ भनेर देखाउन पनि प्रतियोगिता

लन्डन । युरो २०२० शुक्रबार सुरु हुँदै छ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल उपाधि रक्षाको तयारीमा हुनेछ । विश्व च्याम्पियन फ्रान्स पनि युरो जित्न चाहन्छ । फ्रान्सले यस्तो गर्न सके यो दुर्लभ दोहोरो उपाधिको उपलब्धि हुनेछ । कोरोना भाइरस महामारीका कारण प्रतियोगिता एक वर्षपछि हुन लागेको छ । फ्रान्सेली टिम निकै बलियो देखिन्छ । त्यसैले फ्रान्स तेस्रोपल्ट युरोपेली विजेता हुन सक्षम छ । पूरा युरोपमा छरिएर हुने यस प्रतियोगितामा शीर्ष वरीयताको बेल्जियम र युवा इंग्ल्यान्डलाई पनि कम आँक्न सकिने छैनन् । 

प्रतियोगिताको इतिहासमै पहिलोपल्ट युरोपका ११ सहरमा खेल हुनेछ । यसअघि बढीमा दुई देशसम्मान प्रतियोगिता हुन्थ्यो । कोभिड–१९ महामारीबीच पनि यति धेरै सहरमा खेल चल्नेछ । युरोपेली फुटबल महासंघ (यूएईएफ) ले दर्शक प्रवेशलाई अनिवार्य गरेपछि डब्लिन र बिल्बाओले त्यसलाई पूरा गर्ने वचन दिन सकेनन् । त्यसैले यी दुईलाई आयोजक सहरबाट हटाइए । यहाँ हुने खेल अब लन्डन र सेन्ट पिटर्सबर्गमा हुनेछ ।

शुक्रबार रोमको ओलम्पिक स्टेडियममा पहिलो खेल हुनेछ । त्यसमा इटाली र टर्की भिड्नेछन् । दर्शक संख्याले १६ हजार छुने विश्वास छ । सबैको प्रिय फ्रान्स मंगलबारमात्र मैदान उत्रन्छ । विश्व च्याम्पियनले म्युनिकमा हुने समूह चरणको खेलमा जर्मनीको सामना गर्नेछ । केलियन एमबाप्पे, करिम बेन्जेमा र एन्टोइन ग्रिजमनको उपस्थितिले फ्रान्स शक्तिशाली देखिएको हो । सबैको नजर ३३ वर्षीय बेन्जेमाप्रति हुनेछ । उनी साढे पाँच वर्षको लामो निर्वासनपछि फ्रान्सेली टिममा फर्केका छन् ।

रियल म्याड्रिडमा पछिल्लो सिजन उनका लागि राम्रो रह्यो । डिफेन्डिङ च्याम्पियन पोर्चुगलले समूह ‘एफ’ मा हंगेरीको चुनौती सामना गर्नेछ । यस समूहलाई प्रतियोगिताको ‘ग्रुफ अफ डेथ’ भनिएको छ । रोनाल्डो आफैं ३६ वर्षका भइसके । तर उनी अझै बलिया छन् । उनलाई साथ दिने अहिलेको टिम ५ वर्षअगाडिको विजेता टिमको तुलनामा राम्रो छ । पोर्चुगाली टिममा जाओ फेलिक्स, ब्रुनो फर्नान्डेज, बनार्डो सिल्भा र रुबेन डायस जस्ता खेलाडी छन् ।

इंग्ल्यान्डलाई भने एउटा तथ्यले बलियो बनाउने छ । यसै कारण यो टिम प्रेरित रहनेछ । यो कारण हो, प्रतियोगिताका दुवै सेमिफाइनल र फाइनल वेम्बलीमा हुनेछ । पछिल्ला केही ठूला प्रतियोगितामा इटाली र नेदरल्यान्ड्स छनोटसमेत हुन सकेका थिएनन् । यसपल्टको प्रतियोगितामा यी दुई फर्केका छन् । तिनलाई आफ्नो उपस्थिति सिद्ध गर्ने चुनौती हुनेछ । इंग्लिस कप्तान ह्यारी केन यसपल्टको प्रतियोगितामा आफ्नो टिमको सम्भावना बढी देख्छन् । 

प्रतिक्रिया दिनुहोस