कोरोना कहरका बीच कृषिमार्फत स्वरोजगार बनाउने  गाउँपालिकाको प्रयास

रासस

मंगलबार, २५ जेठ २०७८, १० : १३
कोरोना कहरका बीच कृषिमार्फत स्वरोजगार बनाउने  गाउँपालिकाको प्रयास

गण्डकी । कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ ।

आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण गरेको थियो । यस वर्ष सर्वसाधारणलाई ३५ हजार कुरिलोको विरुवाका साथै १६ हजार डाले घाँसको विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

कृषिका सम्भाव्यताको पहिचानका लागि गाउँपालिका क्षेत्रमा अघिल्ला वर्षमा माटो परीक्षणसमेत गराइसकेको जानकारी दिँदै उनले कृषिमार्फत स्वरोजगार अभिवृद्धि गराउने दीर्घकालीन लक्ष्य राखिएको बताए ।

सम्भाव्यताकै अध्ययनका क्रममा गाउँपालिकाको वडा नं ३ पत्थरमा कृषि विज्ञहरू डा. अनिल सुवेदी र डा. कुलराज चालिसेले पत्थरमाथि खेतीको अनुसन्धान गरिरहनुभएको जानकारी दिँदै उनले अनुसन्धान सफल भएमा सर्वसाधारणलाई यसतर्फ अभिप्रेरित गरिने बताए ।

पत्थरमाथि बोरामा माटो राखेर तरुल, गिठठ आदि कन्दमुलजन्य वस्तुहरूको खेतीबारे सम्भाव्यता अध्ययन भइरहेको उनले बताए ।  गाउँपालिकाले पुरानो बाली संरक्षण अभियानअन्तर्गत वडा नं ४ सल्यानमा कोदो, मकै, धानको रैथाने प्रजातिको संरक्षण कार्यलाई पनि अघि बढाएको कुँवरले बताए । 

प्रतिक्रिया दिनुहोस