व्यक्तिले हडपेका सरकारी जग्गाहरू फिर्ता गर्न सफल भए : शिवमाया तुम्बाहाङ्फे

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १३ : २०
व्यक्तिले हडपेका सरकारी जग्गाहरू फिर्ता गर्न सफल भए : शिवमाया तुम्बाहाङ्फे

काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा .शिवमाया तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा व्यक्तिले हडपेका सरकारी जग्गाहरू फिर्ता गर्न सफल भएको बताएकी छन् ।

उनले सुनसरीमा १७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाडौंमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम पनि अन्तिम चरणमा पुगेको बताइन् । उनले भनिन्, ‘सुनसरीमा १७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौँ । राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो । दुषित मनसायका साथ विभिन्न व्यक्तिहरूले त्यो जग्गा हडपेका थिए । जग्गा बिक्री वितरण गरिएको थियो । ती व्यक्तिहरूलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाहरुको हकमा केही-केही जग्गाहरू सरकारको नाममा ल्याउने काम सकेका छौँ । र अझै पनि छानविन हुँदैछ ।’

आफ्नो कार्यकालमा जग्गा नापजाँचको नयाँ प्रविधि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकाली सम्मको भूभागमा नापजाँच गरिसकेको उनले बताइन् । त्यस्तै आगामी आर्थिक वर्षमा नारायणीदेखि मेचीसम्म नापजाँचको काम हुने जानकारी दिइन् ।

‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ । लाइडर प्रविधि, हाम्रो डाटा कलेक्शन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीँ छोडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु’, उनले भनिन् ।भूमि मन्त्रालयअन्तर्गत भइरहेका सेटिङको प्रयासलाई आफूले तोडेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस