एनआरएनए कोरियाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

रासस

आइतबार, २३ जेठ २०७८, १२ : ०७
एनआरएनए कोरियाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्था र नेपालीबाट सङ्कलित रकमबाट करीब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल पठाई हस्तान्तरण गरिएको छ । 

दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल पुगेको कोरियन एयर ११२ यात्रुसहित कोरोनाको राहत सामग्री लिएर जुन ४ तारिख काठमाडौँ पुगेको हो । उक्त विमानमा एक लाख मास्क, ३०० पिपिई सेट, २४० बोतल स्यानिटाइजर, ५०० थान अक्सिमिटर र विभिन्न औषधि नेपाल पठाइएको एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीले बताए । 

नेपाली राजदूतावासको समन्वयमा उक्त स्वास्थ्य सामान केएमई ट्राभल्सको विशेष पहलमा कोरियन एयरले निःशुल्क रुपमा नेपाल दिएको हो ।सङ्कलित रकममध्ये १७ थान अक्सिजन कन्सन्ट्रेटर पनि गैह्रआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा छिमेकी राष्ट्र चीनदेखि नेपाल वायु सेवा निगमको विमानमार्पत जुन ५ मा नेपाल पुगेको महासचिव सुवेदीले बताए । 

कोरियास्थित नेपाली राजदूतावासले एक विज्ञप्तिमार्फत नेपालको कोरोनाविरुद्वको लडाइँमा ऐक्यबद्वता प्रदर्शन गर्नुहुने सम्पूर्ण कोरियावासी नेपालीलाई धन्यवाद व्यक्त गरेको छ । 

एनआरएनए कोरियाको पहलमा कोरियामा रहेका नेपालीले यसअघि पनि कोरोना भाइरस प्रकोप नियन्त्रणमा सहयोग सङ्कलन गरी ठूलो परिमाणमा कोरोना जाँच गर्ने किटलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस