बाँकेमा उपचारको क्रममा थप चारजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, ०९ : ३९
बाँकेमा उपचारको क्रममा थप चारजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया ठाकुरबाबाका ६८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ १३ गते भर्ना भएका उनको भोलिपल्ट पीसीआर गरिएको थियो ।

सल्यान बागचौर नगरपालिका वडा नं। ३ का २७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ ७ गते पीसीआर गरेका उनलाई २० गते भर्ना गरिएको थियो। प्यूठान जिल्ला प्यूठान नगरपालिका वडा नं. ४ का ४७ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ ८ गते पीसीआर गरिएका उनलाई १२ गते भर्ना गरिएको थियो।

दाङ लमही नगरपालिका वडा नं. ४ का ५८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ ९ गते पीसीआर गरिएका उनलाई १२ गते भर्ना गरिएको थियो । योसँगै बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या तीन सय ६ जना पुगेको छ। दुई दिनयता बाँकेमा बाहिरी जिल्लाका संक्रमितको मात्रै मृत्यु भइरहेको छ। जिल्लामा मृत्यु र संक्रमित दर घट्दै गएको छ।

प्रतिक्रिया दिनुहोस