अमेरिकाको सियाटल किंग्स काउण्टी र नेपालको भरतपुरलाई भगिनी महानगर बनाइने

शुक्रबार, २३ चैत्र २०७४, १४ : १५
अमेरिकाको सियाटल किंग्स काउण्टी र नेपालको भरतपुरलाई भगिनी महानगर बनाइने

चितवन । अमेरिकाको वासिंटन राज्यस्थित सियाटल किंग्स काउण्टी महानगर र चितवनको भरतपुर महानगरबीच भगिनी महानगर बनाउन पहल सुरु भएको छ । सियाटल किंग्स काउण्टी महानगरकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई भगिनी महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेपछि त्यसका लागि पहल सुरु गरिएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले वाणिज्य दूतावासमार्फत भगिनी सम्बन्धका लागि पहल भइरहेको जानकारी दिनुभयो । ‘अमेरिकाको सियाटल किंग्स काउण्टी महानगरपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको पूयास हुनु जिल्लावासीका लागि खुशीको कुरा हो’ उहाँले भन्नुभयो ।
मेयर डर्किनले नेपालको महानगरपालिकाको पहिलो महिला मेयरले नेतृत्व गरेकोले पनि भरतपुर महानगरपालिकालाई आफूले भगिनी महानगरपालिका बनाउन ईच्छुक रहेको बताउनु भएको छ ।
वासिंटन स्टेटको सियाटलस्थित नेपाली वाणिज्यदुत एसी शेर्पासंगको भेटमा शेर्पाको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै मेयर डर्किनले भरतपुर महानगरपालिकासँग मिलेर काम गर्न सकिने संकेत गर्नु भएको छ । नगरपालिकासँगको भगिनी सम्बन्ध स्थापनाका लागि आवश्यक विषयवस्तुसहित अर्काे भेटमा विस्तृत कार्ययोजना बनाउने तयारी भएको छ ।
वाणिज्यदूत शेर्पाले कार्यभार सम्हालेपछि सियाटलबाट नेपाल जाने भिषा लिएर सेवा प्रदान गरिएको छ। यस अघि अमेरिकी नागरिकले भिषा नेपाली लिनका लागि अमेरिकी दूतावस वा नेपाल नै पुग्नु पर्नेमा हाल वाणिज्यदुतावास सियाटलबाट पनि भिषा सुविधा शुरु गरिएको छ। विश्वका १० मुख्य पर्यटन र एडभेन्चरका कम्पनीहरुमध्ये सियाटलमा मात्रै सात वटा रहेका छन। नेपालको भ्रमण र एडभेन्चरका बारेमा अमेरिकीहरु निकै सकारात्मक र सहयोगी देखिएको उहाँको भनाई छ । नेपालमा अमेरिकाबाट सबैभन्दा बढी पर्यटक पनि सियाटलबाट जाने गरेको बताउँदै शेर्पाले आगामी दिनमा थप धेरै कामहरु गर्न सकिने संभावनाहरु देखेको वाणिज्यदूत शेर्पाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस