टोलटोलमा उपकरण, हात हातमा मास्क

रासस

बुधबार, १९ जेठ २०७८, १३ : ०७
टोलटोलमा उपकरण, हात हातमा मास्क

बलेवा । कोरोनाका सङ्क्रमित, बिरामी र ज्यान गुमाउने बढेपछि काठेखोलाका विभिन्न वडाका घरघरमा मास्क, टोलटोलमा थर्मलगन र अक्सिमिटर अभियान चलाइएको छ । सङ्क्रमितको घरघरमा कोरोना किटका रूपमा सबै प्रकारका औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको छ । जनप्रतिनिधि, गाउँका सामाजिक अगुवा, व्यवसायी र विदेशमा रहेका युवाको सहयोगसमेत जुटाएर ती सामग्री वितरण गरिएको हो । 

 स्वास्थ्य सामग्री हरेक घरमा पुग्ने गरी दिइएको वडा नं १ का अध्यक्ष खड्ग थापाले बताए । “हामीले आफ्नो कोषमा दातासमेत खोजेर जुटाएको रकमबाट स्वास्थ्य सामग्री दिएका हौँ”, थापाले भने “अत्यावश्यक पर्ने सिटामोलदेखि अन्य औषधि, स्यानिटाइजर र मास्क पनि दिएका हौँ ।” 

सङ्क्रमितले घरमै प्राथमिक उपचार पाउने, परिवारका सबै सदस्य स्वस्थ्य रहने अवसरका लागि सामान दिएको उनले बताए। लेखानी र बिहुँमा भने स्थानीय तथा विदेशका युवाले पठाएको रकम परिचालन गरेर सामग्री वितरणलाई व्यापक बनाइएको छ । स्वास्थ्यकर्मीले पनि घरघरमा स्वास्थ्य परामर्श दिन थालेको वडाध्यक्ष चित्रकला छन्त्यालले बताए । 

कोरोना महामारी बढेपछि चिन्तित गाउँलेहरू सहयोग पाएर खुशी भएका छन् । “घरमै आएर स्वास्थ्यकर्मी, पत्रकार र रेडक्रसका पदाधिकारीले भेट गर्नुभयो”, सिगानाका सङ्क्रमितले भन्नुभयो, “परामर्शसहित औषधि पायौँ, डर पनि हटेको छ ।” 

धेरै सङ्क्रमित भेटिएका काठेखोला, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकाका वडा तहमा यो अभियान चलेको हो । सहयोग जुटाएर हरेक घरमा ५० थान मास्कसहित सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले बताए । कोरोना सङ्क्रमितमध्ये ज्वरो, रुघाखोकी मात्र नभई कतिपयलाई बान्ता, पखाला र शरीर दुख्ने समस्या देखिएको थाहा पाएपछि स्वास्थ्यकर्मीकै उपस्थितिमा आवश्यक औषधिको जोहो गरिएको उनले बताए ।

स्वास्थ्यकर्मीले सङ्क्रमितको अवस्था हेरेर भिटामिन सी, जिङ्कचक्की, पकेट स्यानिटाइजरलगायत सामग्री दिएका छन् । बडिगाडका युवाले सङ्क्रमितको उपचार तथा आइसोलेशन सञ्चालनका लागि लाखौँ रकम जुटाएका छन् । औषधि खरीददेखि सङ्क्रमितलाई अस्पताल लैजाने काममा पनि युवाको अगुवाइमा भएको स्थानीय राजन पाइजाले बताए। “हामी सङ्क्रमित भए पनि परिवारमा नपुगोस् भनेर घर जान सकेको छैन”, पाइजाले भने, “अझै सङ्क्रमणलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।”
    

प्रतिक्रिया दिनुहोस