चीनबाट अनुदानप्राप्त भेरोसेल खोप ६० देखि ६५ उमेर समुहलाई लक्षित, खोप अभियान जेठ २५ बाट शुरु हुने

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, ०९ : २३
चीनबाट अनुदानप्राप्त भेरोसेल खोप ६० देखि ६५ उमेर समुहलाई लक्षित, खोप अभियान जेठ २५ बाट शुरु हुने

काठमाडौं । चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडौं आइपुगेको छ। नेपाल वायुसेवा निगमको जहाजले ८ लाख र एक लाख हिमालय एयरलायन्सले तिब्बतको केरुङबाट ल्याएको छ । बाँकी एक लाख बुधबार ल्याउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ। 

चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल नामक खोप नेपाललाई अनुदानको रूपमा दिएको हो। यो खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको छ। चीन सरकारले नेपालमा पछिल्लोपटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक साता नबित्दै ९ लाख खोप आइसकेको हो।

प्राविधिक कारणले एकैदिन ल्याउन नसकिएको थप १ लाख खोप पनि हिमालय एयरलायन्समार्फत ल्याइनेछ।  चीनले अनुदान स्वरूप दिएका १० लाख खोपमध्ये ८ लाख चीनको केन्द्रीय सरकारले र २ लाख चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराएको हो। 

खोप अभियान जेठ २५ देखि
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले चीनबाट खोप आएलगत्तै खोप अभियान २५ गतेदेखि सुरु गर्ने निर्णय भएको बताए। २५ गतदेखि देशभरका खोप लिन बाँकी ६० देखि ६५ वर्ष उमेर समूहलाई दिइनेछ ।  चीन र अमेरिकाबाट खरिदबाट खोप आउने सम्भावना रहेको कुराप्रति संकेत गर्दै खोप प्रक्रिया निरन्तर अघि बढ्दै जाने मन्त्री त्रिपाठीले बताए । 

‘खोप आउँदै गर्छ, खोप दिँदै जान्छौं,’ उनले भने। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार पाँच दिनभित्र सबै जिल्लामा पठाउने र २५ गतेदेखि खोप अभियान सुरु ग र्ने निर्णय भएको छ। यसअघि ६५ वर्ष माथिकालाई ६३ जिल्लामा र १४ जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिइसकिएको छ।

चीनबाट आएको १० लाख खोपमध्येमा ५ लाख मात्र दिने तयारी भएको छ। चीनबाट थप खोप आउने निश्चित भएपछि बाँकी सबैलाई लगाइने महाशाखा प्रमुख तारानाथ पोखरेलले बताए। नेपालमा ६० देखि ६४ वर्षका ८ लाख ५० हजार जनसंख्या रहेको तथ्यांक छ।  

प्रतिक्रिया दिनुहोस