प्रधानमन्त्री ओली भारत प्रस्थान

शुक्रबार, २३ चैत्र २०७४, ०९ : ३०
प्रधानमन्त्री ओली भारत प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।  ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत प्रस्थान गरेका हुन् । नेपाल वायु सेवा निगमको  विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् ।
ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।

भारत पुगेपछि प्रधानमन्त्री ओलीले आजैदेखि भेटवार्ता सुरु गर्ने भएका छन् । प्रधानमन्त्री ओली आजै बेलुका नेपाली राजदुतावासमा पुगेर नेपाली समुदायसँग भेटवार्ता गर्ने तयारीमा छन् ।

शनिबार बिहान प्रधानमन्त्री ओलीको महत्वपूर्ण भेटवार्ता तय भएको छ । बिहान राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्री राजघाट जाने तयारी छ ।

भारतीय समकक्षी मोदीसँग शनिबार बिहान राष्ट्रपति भवन हैदरावादमा भेटवार्ता गर्ने तालिका तय भएको उनको सचिवालयले जनाएको छ । दुवै प्रधानमन्त्रीबीच अनौपचारिक कुराकानी हुन सक्ने परराष्ट्र स्रोतले जानकारी दिएको छ । शनिबार बेलुका नै प्रधानमन्त्री ओलीले भारतमा अन्य दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस