बजेट कार्यान्वयनका कार्ययोजना तयार गरिन्छ : मन्त्री पौडेल

रासस

सोमबार, १७ जेठ २०७८, १८ : ३३
बजेट कार्यान्वयनका कार्ययोजना तयार गरिन्छ : मन्त्री पौडेल

काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि स्पष्ट कार्ययोजना तय गरिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यन्वयनमा शङ्का गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने उल्लेख गरे  ।  

नेपाल आर्थिक पत्रकार समाज सेजनले आज आयोजना गरेको बजेटपछिको छलफलमा उनले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उल्लेख गरे । त्यसको लागि उनले आजदेखि नै सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल शुरु गर्ने जानकारी दिए। सरकारले ल्याएको बजेट यसपछि आउने सरकारले पनि निरन्तरता दिने बताउँदै उनले  निर्वाचनपछि पनि एमाले नेतृत्वकै  सरकार बन्ने सामथ्र्य राख्ने उल्लेख गरे। सरकारले आफ्नो जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्यवन गर्नको लागि बजेट ल्याएको बताउदै बजेट भित्र बसेर टिप्पणी गर्न उनको आग्रह छ । 

अहिलेको परिस्थितीसँग सरकार जुधिरहेको उनको तर्क रहेको छ ।“हामी कोभिड भनेर हात ठडाएर बस्दैनौ, आजको परिस्थितीसँग जुध्दै अघि बढ्छौँ”, मन्त्री पौडेलले भने, “ निर्वाचन हुदैछ बजेट नल्याउ भन्न मिल्दैन, बजेट नल्याउनु भनेको यस्तो बेला कोभिड खोप नल्याउ, कोरोनाको विषम परिस्थितीसँग नजुध भने जस्तै हो ।”

उनले सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार भएकै कारणले आवश्यक बजेट व्यवस्था गरेको स्पष्ट पारे ।राजनीतिक दलका टिप्पणीबाट भ्रमित नभई आर्थिक क्रियाकलापमा लाग्नको लागि निजी क्षेत्रलाई उनले सुझाव दिए ।सरकारले ल्याएको बजेट आगामी सरकारले कार्यान्वयन गर्नैपर्ने हुने उनको कथन छ ।
 

प्रतिक्रिया दिनुहोस