चितवन । सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेटमा यहाँका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरूको टिप्पणी छ ।
उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयत्न गर्न खोजेको भन्दै स्रोत जुटाउन असम्भव रहेको बताउनुभयो । उनले भने, “अहिलेको विषम परिस्थितिमा रु १० खर्ब २४ अर्ब राजश्व सङ्कलन गर्न सम्भावना देखिँदैन ।” साधारण खर्चका लागि समेत रु ४३ अर्बले नपुग्ने भन्दै उनले अनुदानमा ठूलो अपेक्षा गरिएको भए पनि सम्भावना कम रहेको टिप्पणी गरे ।
उनले भने, “यस वर्ष रु ११ अर्ब वैदेशिक अनुदान छ, आगामी वर्ष त्यति धेरै कसरी प्राप्त हुनसक्ला ?” छुटले गर्दा राजश्व सङ्कलन कमी हुने भन्दै उनले बन्द रहेका चार लाख लघु घरेलु उद्योगका विषयमा बजेट नबोलेको प्रतिक्रिया दिए । चलिरहेका उद्योगलाई बजेटले सम्बोधन गरे पनि बन्द भएकालाई सम्बोधन हुन नसकेको उनको गुनासो छ ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले बजेटले निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको बताए । उनले भने “लक्ष्य प्राप्त गर्न भने कठिन छ ।” राजश्वमा छुटैछुट दिएपछि लक्ष्यअनुसार राजश्व कसरी उठ्छ ? उनले प्रतिप्रश्न गरे । महामारीको अवस्था रहेकाले सरकारले गरेको लक्ष्यअनुसारको राजश्व उठाउन नसक्ने दाबी गर्नुभयो । श्रेष्ठले भने, “बजेट समावेशी छ, छरिएको छ, तर लक्ष्यप्राप्त गर्न चुनौतीपूर्ण छ ।”
चेम्बर अफ कमर्श चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठले सामान्य अवस्थाको दिगो सरकारले ल्याउनेजस्तो बजेट अहिले आएको बताउनुभयो । कामचलाउ सरकारले छोटो अवधिका लागि बजेट ल्याउनुपर्नेमा पूर्ण बजेट ल्याएको भन्दै उनले कार्यान्वयनमा विश्वास गर्ने अवस्था नरहेको प्रतिक्रिया दिए । उनले भने, “राजनीतिक अस्थिरताको अहिलेको अवस्थामा बजेट कार्यान्वयनमा आउने कुरामा विश्वास गर्न सकिँदैन ।” बजेटले समग्र क्षेत्रलाई समेट्नु सकारात्मक भएको उनको भनाइ छ । उनले थपे, “स्थिर सरकारले यसरी बजेट ल्याउनुपर्छ ।”
उद्योग वाणिज्य महासङ्घका पूर्वसदस्य डा तिलचन्द्र भट्टराईले अहिलेको विषम परिस्थितिमा सबै तह तप्कालाई कुनै न कुनै तरिकाले बजेटले समेट्नु सकारात्मक भएको बताए । उनले भने, “यो बजेटले आम नागरिकलाई कुनै न कुनै तवरबाट समेटेको छ ।” बजेट कार्यान्वयनका लागि सबै पक्षबाट सहयोगको आवश्यक रहेको भट्टराईले बताए ।
पोल्ट्री विज्ञसमेत रहनुभएका भट्टराईले कृषि र पोल्ट्री क्षेत्रलाई बजेटले समेटेको प्रतिक्रिया दिए। बजेटको विस्तृत अध्ययनपछि थप जानकारी हुने भन्दै उनले कृषिजन्य कच्चा पदार्थमा ओसारपसार र ह्याचरीका उपकरणमा राज्यले सहुलियत दिएको छ भने। उत्पादनका आधारमा अनुदान दिनु महत्वपूर्ण रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ जेठ २०७८, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटलाई जनमुखी बनाउन एमाले शीर्ष नेताहरूको सुझाव
बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री
शक्तिशाली सरकार बजेट खर्चमा चुक्यो, कुल बजेटको आधा पनि खर्च भएन
अर्थ मन्त्रालयद्वारा नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत