एमाले नेताको नेतृत्वमा स्वास्थ्यकर्मीमाथि आक्रमण

पत्रपत्रिकाबाट

शनिबार, १५ जेठ २०७८, ०७ : १२
एमाले नेताको नेतृत्वमा स्वास्थ्यकर्मीमाथि आक्रमण

काठमाडौं । चिकित्सक संघको बाँके जिल्ला शाखा कार्यालय परिसरमा बसिरहेकी उनको मुहार मलीन थियो । छेउमै चिकित्सक, स्वास्थ्यकर्मी र स्टाफ नर्स नाराबाजी गरिरहेका थिए, ‘वी वान्ट जस्टिस, नो सेक्युरिटी नो वर्क । आक्रमणकारीलाई कारबाही गर । प्रहरी–प्रशासन मुर्दावाद ।’

कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा कार्यरत स्टाफ नर्स सदीक्षा गैरे रातिदेखि आफू र सहकर्मीमाथि कुरुवाबाट भएको आक्रमणको घटनाबारे सोध्नेहरूलाई जानकारी दिँदादिँदै थाकेकी थिइन् ।

बिहीबार राति अस्पतालको आईसीयूमा उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, मृतकका छोरा भरत, लोकराजलगायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त आक्रमण र त्यसबाट जोगिन मोलेको जोखिम सदीक्षाले भुल्न सकिरहेकी थिइनन् । बिरामीको अवस्था गम्भीर भए पनि भेन्टिलेटरमा सार्ने क्रममा मृत्यु भएको केहीबेरमै वार्डमै पसेर उनीहरूले सुरुमा सदीक्षाको घाँटी च्यापेका थिए ।

प्रत्यक्षदर्शी चिकित्सकका अनुसार आक्रमणकारीले घाँटी च्यापेर जे पनि गर्ने बताइरहेका बेला अर्का कुरुवाले ‘के गरेको ? नगर्नूस्’ भनेका थिए । त्यसपछि आक्रमणमा संलग्न ती व्यक्ति अर्का कुरुवामाथि जाइलागे । त्यही बेला गैरेलगायत उक्त वार्डमा रहेका स्वास्थ्यकर्मी क्याबिनमा पुगेका थिए ।

‘आक्रमणकारीले हाम्रो मान्छे मारिस् भन्दै मलाई खोज्न क्याबिनको झ्याल फुटाए, त्यसपछि लुक्न शौचालय गयौं,’ घाँटीको डाम देखाउँदै गैरेले भनिन्, ‘उनीहरूले शौचालयको ढोका फुटाउन थालेपछि झ्यालबाट हाम फाल्यौं । झ्यालमुनि बालुवा रहेछ । धन्न बाँच्यौं ।’ चिकित्सकका अनुसार कोरोना संक्रमित रावतलाई १० दिनअघि उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उनलाई सास फेर्न गाह्रो भएपछि आईसीयूमा राखिएको थियो । बिहीबार साँझ सवा ८ बजेतिर स्टाफ नर्स गैरे बिरामीको ईसीजी गरिरहेकी थिइन् । ‘एक्कासि बिरामीका आफन्त जाइलागे,’ उनले भनिन्, ‘हाम्रो बिरामीलाई पहिलाको अवस्थामा फर्काइदेऊ भन्दै मार्ने धम्की दिए ।’

स्वास्थ्यकर्मीका अनुसार प्रहरीलाई खबर गर्दा पनि आएनन् । त्यसैले स्वास्थ्यकर्मीले ज्यान जोगाउन शौचालयको झ्यालबाट हाम फालेर भाग्नुपरेको थियो । गैरे अढाई वर्षदेखि यहाँ कार्यरत छिन् । परिवार छोडेर दिनरात भोक प्यास नभनी बिरामीको सेवामा खटिँदा पनि आक्रमण हुनुले दुःख लागेको उनले बताइन् । ‘पहिला त परिवारले पनि यस्तो बेला सहयोग गर्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो,’ उनले भनिन्, ‘घटनापछि परिवारले पनि जागिर छोड्न दबाब दिन थालिसके ।’ आक्रमण हुँदा गैरेसँगै आश्मिनी गुरुङ, रीता अधिकारी, भावना श्रेष्ठ, कविता पुनसहित पाँच जना नर्स र डा. चन्द्रप्रकाश साहू खटिएका थिए । रावतको मृत्युपछि उनका भाइ मानबहादुर, भरतबहादुर र लोकराजले ड्युटीमा रहेका डाक्टर र नर्सलाई हातपात गरेको स्वास्थ्यकर्मीले बताए । कान्तिपुर दैनिकमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस