ब्राजिलका पूर्वराष्ट्रपतिको अपिल अदालतद्वारा अस्वीकार

विहीबार, २२ चैत्र २०७४, १७ : ५५
ब्राजिलका पूर्वराष्ट्रपतिको अपिल अदालतद्वारा अस्वीकार

ब्रासिलिया । ब्राजिलको संघीय सर्वोच्च अदालतले पूर्वराष्ट्रपति लुइज इनाकिओ लुला डा सिल्भाको अपिल अस्वीकृत गरिदिएको छ । आफूलाई थुनामुक्त गर्न उहाँले दिएको अपिललाई अदालतले अस्वीकृत गरिदिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

उहाँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा मतविभाजन हुँदा ६ जना अर्थात बहुसंख्यक न्यायाधीशले उहाँलाई थुनामुक्त गर्न नहुने पक्षमा आफ्नो धारणा राखेका थिए ।

प्रधानन्यायाधीश करर्मेन लुसिया रोचा पनि पूर्वराष्ट्रपति लुलालाई थुनामुक्त गर्नु हुदैन भन्ने पक्षमा उभिनु भएको थियो । उहाँको मागअनुसारको अपिल सदर भएको भए आदेश भएको भए यसैवर्ष हुन लागेको राष्ट्रपतिको निर्वाचनमा उहाँले प्रतिस्पर्धा गर्न पाउनुहुन्थ्यो ।

भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्ति सम्बन्धी मुद्दा झेलिरहनु भएका लुलामाथि अहिले अनुसन्धान भइरहेको छ ।
एउटा सरकारी भवन निर्माणसम्बन्धी सम्झौतामा उहाँले आफ्नो पक्षको कम्पनीलाई दिलाउने कार्यमा संलग्न भएको आरोप उहाँलाई लागेको छ ।

तर लुलाले भने भवनसम्बन्धी सो आरोप पटक÷पटक अस्वीकार गर्दै आउनु भएको छ ।
ब्राजिलको वर्कर्स पार्टी (पीटी) ले पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वराष्ट्रपति लुलालाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदबार बनाउने घोषणा गत जनवरीमै गरेको थियो ।

ब्राजिलमा आगामी अक्टोबरमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने तय गरिसकिएको छ । निर्वाचन पूर्वका सर्वेक्षणले आफ्ना प्रतिस्पर्धीका विरुद्धमा लुलाले नै सुविधाजनक र स्पष्ट जित हासिल गर्ने देखाएका छन् । उहाँको सहभागिता बिनाको निर्वाचनको थोरै पनि कल्पना गर्न नसकिने उनीहरुको भनाइ छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस