घरमै ‘क्वारेन्टाइन’ बस्ने कोरोना संक्रमितलाई थप सतर्कता आवश्यक

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, ०८ : ५७
घरमै ‘क्वारेन्टाइन’ बस्ने कोरोना संक्रमितलाई थप सतर्कता आवश्यक

काठमाडौँ । कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ हुन सक्ने र त्यस्तो अवस्थामा जोखिम बढ्ने उहाँहरूको अनुभव छ ।

लक्षणविहीन अवस्था, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति मात्र होम आइसोलेसनमा बस्न सुझाव दिँदै गम्भीर खालका लक्षण भएका सङ्क्रमित पनि होम आइसोलेसनमा बस्ने गरेका कारण जटिल समस्या सिर्जना भई अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताए । 

उनले भने, “सङ्क्रमितहरू होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता हो तर लक्षण देखिएपछि समयमै चिकित्सकसँग परामर्श लिने तथा जाँच गराउनुपर्छ । सङ्क्रमित गम्भीर अवस्थामा पुगेपछि उपचार गर्न हामीलाई पनि गाह्रो हुन्छ ।” गम्भीर खालका लक्षण भएका सङ्क्रमित होम आइसोलेसनमा बस्दा समस्या जटिल हुने र समयमै उपचार नपाउँदा बिरामीको ज्यान जोखिममा पर्न सक्ने डा. पुनले स्पष्ट पारे ।

होम आइसोलेसनमा बसेका कति सङ्क्रमितको मृत्यु भयो भन्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छुट्टै तथ्याङ्क भने छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले भने, “लक्षण सहितका कोरोना सङ्क्रमितमा निमोनियाको लक्षण देखिन पाँचदेखि १० दिन लाग्छ । त्यो बेलासम्म ज्वरो हटिसकेको हुन्छ । कुनै व्यक्तिमा खोकी अलिअलि मात्र लागेको हुन्छ भने कोही व्यक्तिमा खोकी बढेर जान्छ । त्यसैले खोकीलाई निको पार्छु भन्दै कोही व्यक्ति औषधि खाएर घरमै बसिरहेका हुन्छन् ।

अहिले सङ्क्रमितहरू गाह्रो हुँदाहुँदै पनि घरमै आइसोलेसनमा बसिरहने र सङ्क्रमणले च्यापेपछि मात्र अस्पताल ल्याउने गरेको पाइन्छ,” उनले बताए । डा. बाँस्तोलाका अनुसार एक पटक छातिको एक्स–रे गर्ने तथा सम्बन्धित चिकित्सकसँग परामर्श लिएको खण्डमा धेरैको ज्यान जोगिन सक्छ । “आफू नै चिकित्सक, वैद्य भएर जे मन लाग्यो त्यही औषधि सेवन गरेमा समस्या झन् जटिल हुन्छ” उनले भने । 

प्रतिक्रिया दिनुहोस