मेरो पार्टीले जितोस् नजितोस् लोकतन्त्रले जित्नुपर्छ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १६ : १४
मेरो पार्टीले जितोस् नजितोस् लोकतन्त्रले जित्नुपर्छ : प्रधानमन्त्री ओली

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणाली र आचरणभन्दा बाहिर गएर होइन निर्वाचन गर्दा शान्तिपूर्ण हुनुपर्ने कुरामा जोड दिएका छन् । एमाले निकट प्रेस चौतारीको कार्यक्रमलाई आइतवार बालुवाटारमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

‘प्रतिनिधि सभाको हैसियत अनुसार बाँडेर चुनावी सरकार बनाउन सकिन्छ, राष्ट्रिय सरकार बनाएर चुनाव गरौं । लोकतान्त्रिक प्रणाली र आचरणभन्दा बाहिर गएर होइन । मेरो नेतृत्वमा निर्वाचन गर्दा शान्तिपूर्ण निर्वाचन हुनेछ, स्वतन्त्र र निष्पक्ष हुनेछ, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाएर गरिने छ,’ ओलीले भने,

‘सीसी क्यामेरा जडान गरिने छन्, ड्रोनबाट गतिविधि खिचिने छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सबै शक्ति, संस्था र व्यक्तिलाई स्पष्ट गर्न चाहन्छु । निष्पक्षताको मामलामा यो सरकारले गराएको चुनाव सर्वोत्कृष्ट ठहरिने छ । मैले जितूँ, कि नजितूँ, मेरो पार्टीले जितोस्, नजितोस्, लोकतन्त्रले जित्नुपर्छ ।’ 

विघटित प्रतिनिधि सभाको हैसियतअनुसार बाँडेर चुनावी सरकार बनाउन सकिने ओलीले बताएका छन् । तर, असंवैधानिक बाटोबाट अर्को सरकार बनाउन नसकिने उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस