बिवाह गरेको १५ दिनमै कोरोनाले बिते पति

सोमबार, ०३ जेठ २०७८, ०८ : ०४
बिवाह गरेको १५ दिनमै कोरोनाले बिते पति

रुपन्देही । परिवारले वैशाख १५ का लागि बिहेको लगन छिने । तर बिहे हुन लागेका बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञवालीलाई भने १० गतेदेखि नै ज्वरो आएको थियो ।

नजिकको मेडिकलमा रगत जाँचपछि टाइफाइड भएको भन्दै ५ दिनलाई औषधि दिइयो । स्लाइन चढाइयो । उनको स्वास्थ्यमा सुधार आएन । पुनः उपचारका लागि गए पनि पूरा औषधि खाएपछि निको हुन्छ भनेर मेडिकल सञ्चालकले फर्काइदिए । उता बिहेको तयारी चल्दै थियो ।

सन्चो नभए पनि औषधिको भरमा सीमित जन्तीसहित दीपक दुलही लिन गए । गुल्मीबाट केटी पक्ष बुटवल आएका थिए । थोरै सहभागी भएर बिहे टुंग्याउने सल्लाह थियो । बुटवलकै एक होटलमा बिहे सकेर दिउँसो २ बजे दुलही लिएर फर्किए । बिहेकै साँझ बिरामले च्यापेपछि दीपकलाई उनका दाइले लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएर पीसीआर परीक्षण गराए । अर्को दिन रिपोर्ट पोजिटिभ आयो । ‘घरमै हेरचाह गरौंला भनेर अक्सिजनसहित घर आयौं,’ उनका दाइले भने, ‘घरमा ल्याउँदा ज्वरो र खोकी थिएन ।’

भोलिपल्ट दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि दीपकलाई मेडिटेक अस्पताल पुर्‍याइयो । अक्सिजन लगाएर एक दिन त्यहीँ राखियो । १८ गते उनलाई धागो कारखानास्थित कोरोना विशेष अस्पताल लगियो । एक रात अक्सिजनसहित आइसोलेसनमा राखिए पनि अवस्था नसुध्रिएपछि भोलिपल्ट आईसीयूमा सारियो ।

१० दिनदेखि उनको आईसीयूमा उपचार चलिरहेको थियो । तर वैशाख २९ को साँझ ५ बजे एकाएक अस्पतालमा अक्सिजन सकिएको भन्दै नर्स आत्तिए । आधा घण्टासम्म अक्सिजन आपूर्ति नहुँदा आईसीयूमा रहेका ५ जनाले ज्यान गुमाए । त्यसमध्येमा दीपक पनि एक थिए ।

भाइको मृत्यु हुनुमा मेडिकल सञ्चालक र कोरोना अस्पतालको लापरबाही कारण रहेको उनका दाजुको आरोप छ । ‘आफैं व्यवस्थापन गर्नुस् भनेर पहिले नै भनेको भए खोजेर ल्याउँथ्यौं । त्यति छोटो समयमा अक्सिजन खोज्न सकिएन,’ दाइले भने, ‘सरकारले भाइको हत्या गर्‍यो ।’ निमोनिया भइसकेका भाइलाई मेडिकल सञ्चालकले टाइफाइड भनेर औषधि दिँदा पनि उपचारमा विलम्ब भएको उनको भनाइ छ ।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस