महामारीविरुद्ध ‘एक्शन’मा मुख्यमन्त्री राउत

रासस

आइतबार, ०२ जेठ २०७८, १७ : ४८
महामारीविरुद्ध ‘एक्शन’मा मुख्यमन्त्री राउत

धनुषा । पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमणविरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक्शनमा उत्रिएका छन् । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन गरेका छन्। 

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरजप्रताप सिंह र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन ।

ढल्केवरस्थित ढल्केवर ग्यास उद्योग अक्सिजन प्लान्ट निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजनको वितरण एकद्वार प्रणालीमार्फत मात्र गर्न निर्देशन दिनुभएको छ । जिल्लामा अक्सिजनको वितरणमा आजैदेखि एकद्वार प्रणाली लागू गरिएको छ ।

त्यसैगरी मुख्यमन्त्री राउतसहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्टको समेत अवलोकन गरेका छन्। सो क्रममा उनले अविलम्ब प्लान्ट सञ्चालन गरी सङ्क्रमितको ज्यानको रक्षा गर्न उद्योगका सञ्चालकलाई आग्रहसमेत गरेका छन् । मुख्यमन्त्री राउतको आग्रह उद्योगका सञ्चालकले शनिबारसम्म जसरी भए पनि प्लान्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन । बेलामा निर्माणाधीन उद्योग २४ घण्टामा ६०० सिलिन्डर रिफिल गर्न सक्ने क्षमताको छ ।

त्यस्तै मुख्यमन्त्री राउतसहितको टोलीले जानकी मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालको समेत निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापकसँग अस्पतालमा रहेका सङ्क्रमितको अवस्था र उपचारमा भइरहेको समस्याबारे जानकारी लिएको छ । 

प्रतिक्रिया दिनुहोस