चलचित्रको गीतसंगीतलाई उचाइमा पुर्याएर बिदा भए चेतन कार्की

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १२ : १७
चलचित्रको गीतसंगीतलाई उचाइमा पुर्याएर बिदा भए चेतन कार्की

काठमाडौँ । चेतन कार्की । नेपाली चलचित्र क्षेत्रमा ख्यातीप्राप्त नाम । जसले आफ्नो सम्पूर्ण जीवन गीतसंगीतमा समर्पण गरे, आज उही चेतन कार्की हामीबाट बिदा भएका छन् । 

कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी कार्कीको निधन भएको हो। एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ ।  विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मेका कार्कीले आफ्नो जीवन नै नेपाली चलचित्र क्षेत्रमा गुजारे । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा जीवनभर सक्रिय रहेका कार्कीले ८३ वर्षको उमेरमा सबैलाई छोडेर गएका छन् । 

उनका तिजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथालगायतका दर्जनौँ गीत गएका कार्की गीतसंगीतमा जमेका थिए ।  उनका  दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन्। उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन्।

आत्मा बेचेको छैन, ढलेको गिलासँ, हनिमुन (उपन्यास) बसिबियाँलो (कथासंग्रह) माया पिरतीको (कथा) जुन निदाउन थाल्यो (गीत संग्रह)लगायतका थुप्रै किताबहरु उनले लेखेका थिए ।  उनको निर्देशनमा बनेका चलचित्रहरु विश्वास, भूमरी, पहिलो प्रेम हुन्। उनले विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गरेका थिए। उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।

प्रतिक्रिया दिनुहोस