नेपाल शिक्षक महासंघद्दारा दोस्रो चरणको आन्दोलन घोषणा

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १२ : ०७
नेपाल शिक्षक महासंघद्दारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ ।दोस्रो चरणको आन्दोलन कार्यक्रम जेठ ५ गतेदेखि सुरु हुने महासंघले जनाएको छ ।

जेठ ५ गते नेपाल शिक्षक महासंघको मागबारे प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीलाई खुलापत्र पठाएर ध्यानाकर्षण गर्ने जनाएको छ । खुलापत्र हरेक शिक्षक कर्मचारीले आफ्नो फेसबुक वालमा शेयर गर्ने समेत भएको छ ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीले कार्यक्रमको तालिका सार्वजनिक गर्दै जेठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिड बिरुद्धको खोप दिइयोस्, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्धि गरियोस् भन्ने नारा पठाउने बताए ।

जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघ बीच महासंघबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तरक्रिया तथा छलफल गर्ने र जेठ ११ गते हरेक शिक्षक तथा शिक्षक महासंघले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातीमा टाँस्ने र टाउकोमा कालोपट्टी समेत बाँधेर फोटो खिचि उक्त फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्ने योजना महासंघले सार्वजनिक गरेको छ ।

जेठ १३ गते हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाँप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका संघीय तथा प्रदेश सभाका सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने र जेष्ठ १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जनाए ।

 

प्रतिक्रिया दिनुहोस