चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत २३ देखि २५ गतेसम्म हुन लागेको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधार्नका लागि हुन लागेको बताउनु भएको छ । ६१ औं राष्ट्रिय सहकारी दिवस एवं बखान बहुउद्देश्यीय सहकारीको वार्षिकोत्सव समारोहलाई आज मंगलबार चितवनको शारदानगरमा सम्बोधन गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा कुनै पनि विषयमा सम्झौता नहुने प्रष्ट पार्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा कुनै सम्झौता हुँदैन । प्रधानमन्त्रीले गर्नुहुने भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि मात्रै हो । दुई देशको हितका बारेमा छलफल भएपनि कुनै सम्झौता भने हुने छैन ।’ भारतीय मिडियामा महाकाली सन्धि लगायतको विषयमा पुनरावलोकनको कुरा आएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा पूर्वप्रधानमन्त्री प्रचण्डले त्यस्तो केही नहुने भन्दै स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमण अगाडि पार्टी एकताको घोषणा सम्भव नरहेको दोहो¥याउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकता संयोजन समितिको प्रतिवेदन आज साँझसम्म आइपुग्छ । त्यसमाथि छलफल गर्न समय लाग्ने भएकोले तत्कालै पार्टी एकता घोषणा गर्न नसकिने भयो । प्रतिवेदनमाथि गम्भीररुपमा छलफल गरेर बैशाख नौ गते पार्टी एकता घोषणा गर्ने गरी कामलाई गति दिइएको छ ।’ उहाँले पार्टी एकता सम्मानजनक हिसाबले हुन गइरहेकोले प्रतिशतको कुरा असान्दर्भिक भएको विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस