मोरङमा उपचारको क्रममा ७ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, ११ : ४९
मोरङमा उपचारको क्रममा ७ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । मोरङमा गएको २४ घण्टामा सात जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल शिक्षण अस्पताल र बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत दुई महिला र पाँच पुरुष संक्रमितको मृत्यु भएको हो।

विराटनगर १० स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार मोरङको उर्लाबारी नगरपालिकाकी ५८ वर्षीया महिलाको शनिबार बिहान करिब २ बजे मृत्यु भएको छ। सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि वैशाख २३ गते भर्ना गरिएको थियो। मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको उनको भनाइ छ।

त्यसैगरि, विराटनगर–१० का ७७ वर्षीय वृद्धको पनि शुक्रबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख २५ गते भर्ना गरिएका वृद्धमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी राजवंशीले दिएका छन्। सम्पर्क अधिकारी राजवंशीका अनुसार शुक्रबार राती विराटनगर–९ का ६७ वर्षीय वृद्ध पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि वैशाख ३० गते भर्ना गरिएको थियो ।
यस्तै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–१ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचारकै क्रममा बिरामीको बिहान करिब ५ बजेर २५ मिनेटमा मृत्यु भएको हो। सङ्क्रमित पुरुषलाई उपचारका लागि वैशाख २६ गते अस्पतालमा भर्ना गरिएको थियो। दाहालले शुक्रबार राती करिब सवा १० बजे विराटनगर–८ का ६४ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको जानकारी दिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहँदा मृत्यु भएको हो।

त्यसैगरि, विराटनगर ५ निवासी ५२ वर्षीया महिलाको समेत उपचारका क्रममा अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। वैशाख २९ गते अस्पतालमा भर्ना गरिएकी उनको शनिबार बिहान पौने १ बजे मृत्यु भएको हो। त्यसैगरि, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत प्रदेश २ सप्तरीका ५३ वर्षीय संक्रमित पुरुषको शुक्रबार साँझ मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस