‘आँसु लुकाएर उपचार गर्दै छौं, ‘चाहेर पनि कतिलाई बचाउन सकेका छैनौं’

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, ०८ : १५
‘आँसु लुकाएर उपचार गर्दै छौं, ‘चाहेर पनि कतिलाई बचाउन सकेका छैनौं’

नेपालगन्ज । भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन् । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि चौतर्फी दबाब आउँछ ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेडयोलोजिस्ट डा. राजेन्द्र खनाललगायतको टिम जनशक्ति पर्याप्त छैन । भएका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा खटाउनु परिरहेको छ । यस्तै समस्यामा गिजोलिए पनि हरसम्भव संक्रमितको उपचार गरिरहेको नेपालगन्जको भेरी अस्पतालको नेतृत्वमा छन्, डा. प्रकाश थापा । मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डांं थापा आफैं दिनरात खट्छन् ।

संक्रमित भर्नाका लागि बुधबार दिनभर आफैं टेन्ट व्यवस्थापनमा लागेका थिए । कोरोना उपचारको केन्द्र बनेको अस्पतालमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमबाट बिरामी आइरहेका छन् । विषम परिस्थितिमा अस्पताल प्रशासन सञ्चालन गर्न र बिरामीको उपचार कसरी सम्भव भएको छ  ? ‘अस्पताल आइसकेको बिरामीलाई घर जानूस् भन्न मिलेन । भुइँमा राखेर भए पनि उपचार गरिरहेका छौं । चुनौती धेरै छन् । चुनौतीसँग जुधेरै अगाडि बढ्ने प्रयास गरिरहेका छौं,’ डा. थापाले भने, ‘हामीले गरिरहेको प्रयासमा स्थानीय प्रशासन र अन्य निकायले सहयोग गरिरहेका छन् ।’ बेड नपाएर अस्पतालको इमर्जेन्सी अगाडि बिरामी छटपटिँदा उनी आफैं बेड मिलाउन पुग्छन् ।

अक्सिजन व्यवस्थापनका लागि प्रशासनसँग समन्वयदेखि अर्थ जुटाउनसम्म आफैं खटिरहेका हुन्छन् । जनशक्ति अपुग भएकाले संक्रमित स्वास्थ्यकर्मीलाई रातदिन परिचालन गरिएको छ । थोरै जनशक्ति, बेड र अक्सिजन अभावले सेवा दिन चुनौती छ । ‘भेरी अस्पताल विकास समितिले पनि हामीलाई सहयोग गरिरहेको छ ।

प्रशासन, सुरक्षा निकाय, विभिन्न संघसंस्थाकै सहयोगमा अगाडि बढिरहेका छौं,’ डा. थापाले भने, ‘महामारीका समयमा धेरै कुरा गौण हुन जान्छन् । प्रमुख कुरा बिरामीलाई कसरी सेवा दिन सकिन्छ भन्ने नै हो ।’ चिकित्सकलगायतका स्वास्थ्यकर्मी स्वस्फूर्त रूपमै बिरामीको सेवामा जुटेको बताउँदै उनले कुनै थप पारिश्रमिक वा भत्ताको व्यवस्था नरहेको जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।