महामारीमा पनि घटेन लैङ्गिक हिंसा

रासस

आइतबार, २६ बैशाख २०७८, १४ : ३७
महामारीमा पनि घटेन लैङ्गिक हिंसा

काठमाडौँ । मुलुक कोरोना भाइरस सङ्क्रमणको जोमिखमा परिरहेका बेला पनि लैङ्गिक हिंसाका घटनाहरुमा कमी आउन सकेको छैन । हाल देशमा बढ्दो रुपमा रहेको कोरोना महामारीका बीच पनि यस्ता घटनाहरु सार्वजनिक भइरहेका सुनिएको छ । 

 धनुषामा गत शुक्रबार सुशीलादेवी मण्डलले आफ्ना पति शम्भु मण्डलको हत्या गरिन् । धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीकीमा २७ वर्षीय सुशीलाले आफ्ना देवरसँग मिलेर पतिको हत्या गरेको रहस्य पछि खुल्न आयो ।  

प्रहरीसमक्ष उनले देवरहरु सञ्जय र अनिससँग मिलेर पतिको हत्या गरेको स्वीकार गरेकी छिन् । दुई देवरसँग अनैतिक सम्बन्ध भएको शम्भुले थाहा पाएपछि मिलेर हत्या गरेको खुल्न आएको छ । उनीहरुले शुक्रबार राति २ बजे तीन जना मिलेर घरमै शम्भुकै मोबाइलका तीनवटा चार्जरको तारले घाँटी कसेर र छुराले रेटेर हत्या गरेको प्रहरीसँग बयान दिएका छन् । 

लैङ्गिक हिंसाका घटनाहरु दैनिकजसो समाजमा बढिरहेका छन् । कोरोना भाइरसको जोखिमका कारणले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । महामारीको अवस्थामा पनि यस्ता घटना रोकिएको देखिदैन ।  

कोरोना भाइरसको जोखिमबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीकै अवस्थामा गत वर्ष क्वारेन्टिमकै एक महिलामाथि सामूहिक बलात्कार भयो । कैलालीको लम्कीचुहास्थित क्वारेन्टिनमा ती महिलाले हारगुहार गर्दा क्वारेन्टिननजिकै घर भएका सर्वसाधारणले थाहा पाएपछि घटना बाहिर आएको थियो । महामारीबाट ज्यान बचाउनका लागि बनाएको क्वारेन्टिनमा बसेकी महिला त्यहीँ सुरक्षित रहन सकिनन् ।

प्रतिक्रिया दिनुहोस