दार्चुलाको गाउँ बस्तीमा बढ्दै सङ्क्रमण

रासस

आइतबार, २६ बैशाख २०७८, ११ : ११
दार्चुलाको गाउँ बस्तीमा बढ्दै सङ्क्रमण

सांकेतिक तस्वीर

दार्चुला । तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको सङ्क्रमण फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसको असर सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीसमेतमा परेको छ ।

“रुघाखोकीको लक्षण देखिएका, ज्वरो आउने र टाउको दुख्ने भएका बिरामीको नमूना परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिन थालेका छ”, अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले भने, “गाउँका हरेक बस्तीसम्म सङ्क्रमित भेटिँदैछन् । अहिले गाउँपालिकाका वडा नं १, २, ३, ४ र ५ मा नमूनाका रूपमा एन्टिजेनमार्फत कोरोनाको परीक्षण गरिँदैछ । स्थिति भयावह नै छ, सावधानी अपनाउनुको विकल्प छैन ।”

वडा नं ६ का वडाध्यक्ष गामसिंह धामीका अनुसार गाउँमा रुघाखोकी लागेर सिटामोल खानुको विकल्प छैन । उनले गाउँमा रुघाखोकीका बिरामी घरघरमा रहेको तर अहिलेसम्म परीक्षण नगरिएको बताए । वडा नं ६ स्थित आधारभूत स्वास्थ्यचौकी प्रमुख धनराज जोशीले दैनिक ८÷१० भाइरलका बिरामी स्वास्थ्य संस्थामा आउने गरेको बताए । उनले भने, “तिनीहरूको कोरोना परीक्षण गरिएको छैन तर रुघाखोकीले समस्यामा परेका धेरै छन् ।”

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालसहित १२ जनामा अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छ । गाउँपालिकामा पर्याप्त मात्रामा एन्टिजेन किट नहुँदा सबैको परीक्षण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । “स्वाब परीक्षण गर्ने भिटिएम वा एन्टिजेन किट पर्याप्त भयो भने सबै ठाउँमा पर्याप्त गर्न मिल्थ्यो”, अध्यक्ष मन्यालले भने, “स्वास्थ्य कार्यालयबाटै थोरै मात्र एन्टिजेन र भिटिएम पठाइएकाले नमूनाका रूपमा परीक्षण गर्दैछौँ ।”

प्रतिक्रिया दिनुहोस