पोखरामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १५ : ०४
पोखरामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा भर्ना भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार पोखराका मणीपाल शिक्षण अस्पताल, मेडिप्लस अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरुमा पर्वत जिल्ला कुस्मा नगरपालिका–१ का ४० बर्षिय कोरोना संक्रमित युवाको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनमा न्युमोनिया लगायतका समस्या देखिएको थिए।

त्यसैगरी पोखरा महानगरपालिका – १३ की ४८ बर्षिय महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । ती महिलामा यही बैशाख १३ गते संक्रमण देखिएको थियो । उनको कोभिड न्युमोनियाका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्ष्य निर्देशनालयले जनाएको छ । 

यस्तै पोखरा महानगरपालिका १० का ८१ बर्षिय बृद्धको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।उनमा बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस