मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन सङ्ख्या वृद्धि गर्न आग्रह

रासस

विहीबार, २३ बैशाख २०७८, १७ : ०७
मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन सङ्ख्या वृद्धि गर्न आग्रह

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९  स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आग्रह गरेका छन् । कोभिड–१९ सङ्क्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उनले सो आग्रह गरेका हुन् ।  

प्रदेशका १३  जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख र महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुसँग आज टेलिफोन सम्वादमा  मुख्यमन्त्री पौडेलले  प्रदेशका ११९  स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आह्वान गरेका हुन् ।

स्थानीय तहका प्रत्येक वडावडामा टोल विकास संस्थामार्फत कोरोना सङक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने प्रयासको लागि प्रत्यक घरदैलोमा जनचेतना अभियान कार्यक्रम सञ्चालन गर्न उनले जोड समेत दिए । 

उनले प्रदेश सरकारले  १३ जिल्ला अस्पताल तथा कोभिड अस्पताललाई आवश्यकीय अक्सिजन, आइसियू कक्ष, भेन्टिलेटर, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले स्रोतसाधन र चिकित्सकको  उपलब्धगराइसकिएको उल्लेख गरे । 

यसैबीच प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र नुवाकोटको विभिन्न स्थानीय तहका टोलमा आइशोलेसन कक्षको स्थापना गरिएको छ ।  सरकारले ती कक्षहरुलाई आवश्यक अक्सिजन, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए  । उनले “कोरोना नियन्त्रणमा सामूहिक प्रयत्नको खाँचो रहेको छ । ”

प्रतिक्रिया दिनुहोस