ओली र मोदीले दिल्लीबाटै अरुण तेस्रोको उद्घाटन गर्ने

पत्रपत्रिकाबाट

सोमबार, १९ चैत्र २०७४, ०७ : १९
ओली र मोदीले दिल्लीबाटै अरुण तेस्रोको उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा २४ चैतमा नयाँदिल्लीको हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रधानमन्त्री ओली र मोदीबीच एकान्त वार्ता र औपचारिक वार्तापछि आयोजना हुने संयुक्त पत्रकार सम्मेलनअघि परियोजनाको उद्घाटन हुनेछ । १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा परियोजना बन्न लागेको हो ।

परियोजनाबाट उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत नेपालले सित्तैमा पाउनेछ भने २५ वर्षपछि नेपाललाई परियोजना हस्तान्तरण गरिनेछ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ०७१ साउन दोस्रो साता लगानी बोर्ड र प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच यसअघि नै परियोजना विकास सम्झौता (पिडिए) भइसकेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुनेछ ।

यससँगै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तत्काल नहुने संकेत देखिएको छ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलद्यिुत् आयोजना उद्घाटनका लागि मोदीले नेपाल भ्रमण गर्ने तयारी थियो । दिल्लीस्थित कूटनीतिक स्रोतका अनुसार गत असोजमा मोदी यी प्रयोजनका लागि नेपाल भ्रमण गर्ने तयारी थियो ।

तर, १८ असोजमा एमाले र माओवादीबीच वाम गठबन्धन घोषणापछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमणको तयारी नै रोकिएको थियो । मोदीले त्यही प्रयोजनसहित जनकपुर, मुक्तिनाथ र लुम्बिनीसमेत जाने गरी चैत अन्तिम साता नेपाल भ्रमण गर्ने तयारी थियो ।

तर, ओलीको राजकीय भ्रमणकै वेला अरुण तेस्रोको उद्घाटन गर्ने तय भएसँगै मोदीको भ्रमण तत्काल नहुने कूटनीतिक स्रोतले बतायो । आगामी मंसिरभित्र नेपालमै आयोजना हुने बिमस्टेकको सम्मेलनमा भने मोदी सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस