नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक वाटमोर श्रीलंका जाँदै

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १२ : ५३
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक वाटमोर श्रीलंका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार श्रीलंका जाँदैछन् । कोरोनाको दोस्रो लहरपछि अहिले नेपालको क्रिकेट गतिविधि स्थगित छ ।

तत्काल क्रिकेट गतिविधि नभएकोले वाटमोर श्रीलंका जान लागेका हुन् । अष्ट्रेलियाका प्रशिक्षक वाटमोरको परिवार श्रीलंकामै छन् ।नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाटमोर श्रीलंका जान लागेको जानकारी दिए । ‘तत्काल क्रिकेट गतिविधि पनि छैन । वाटमोरको परिवार पनि श्रीलंकामा रहेकोले उनी एक महिनाका लागि जान लागेका हुन्’ चन्दले भने, ‘त्यसपछि अवस्था र परिस्थिति हेरेर निर्णय हुन्छ ।’

२०२१ जनवरीदेखि एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक बनेका वाटमोरको पहिलो प्रशिक्षणमै नेपालले वैशाख ४ देखि ११ गतेसम्म काठमाडौंमा भएको त्रिकोणात्मक टी २० सिरिजको उपाध जितेको थियो ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले ५ खेल खेल्दा ४ खेल जितेको थियो सिरिजमा नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालले गत मार्च महिनामा क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेल्ने तय थियो । तर कोरोना महामारीकै कारण उक्त सिरिज स्थगित भएको छ र कहिले हुने भन्ने पनि टुंगो छैन ।

यस्तै नेपालले अब विश्वकप लिग २ अन्तर्गत नै जुलाईमा स्कटल्याण्डमा सिरिज खेल्ने तालिका छ । जसमा नेपालसहित स्कटल्याण्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस