ओडिआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा नेपाल

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १३ : ३९
ओडिआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा नेपाल

काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको ओडिआई र टी २०आई वरीयतामा नेपाल एक एक स्थान सुधार गरेको छ । आइसीसीले हरेक वर्ष मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । यसमा पछिल्लो तीन वर्को नतिजालाई आधार मानिने आइसीसीले जनाएको छ ।

आइसीसीले सोमबारी जारी गरेको वरीयतामा नेपाल ओडिआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । यस्तै टी २० आईमा पनि एक स्थान सुधार गर्दै नेपाल १३औं स्थानमा उक्लेको छ ।

ओडिआईमा नेपाल यसअघि १७औं र युएई १६औं स्थानमा थियो । युएईलाई पछि पार्दै नेपाल १६औं स्थानमा उक्लेको हो । नेपालले २०२० फेब्रुअरीमा क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि ओडिआई खेल खेलेको छैन ।

यस्तै यही बैशाख ४ देखि ११ गतेसम्म नेपालमै भएको त्रिकोणात्मक टी २० सिरिज जितेको नेपालले टी २० वरीयतामा सुधार गरेको हो । सिरिज दौरान नेपालको वरीयतामा तलमाथि भइरहेको थियो । सिरिजको उपाधि जितेपछि नेपाल १४औं स्थानमा उक्लेको थियो । पछिल्लो वरीयतामा नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३औं स्थानमा उक्लेको हो । एसोसिएट नेशनतर्फ नेपाल सबैभन्दा अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस