कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु

रासस

आइतबार, १९ बैशाख २०७८, १३ : ३९
कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु

बझाङ । कोरोना महामारीबीच  यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ । यार्सा सङ्कलनको याम शुरु भएसँगै  अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् । 

उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी सङ्कलन नै मुख्य आयस्रोतको आधार रहेको छ ।  यस क्षेत्रका बासिन्दा परिवारसहित यार्सा सङ्कलनका लागि घरमा ताला लगाएर वैशाखदेखि असार मसान्तसम्म  लेकतिर जान्छन् । 

गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनमा सङ्कलकको भीड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि सङ्कलनमा रोक लगाएको थियो । स्थानीय तहले पनि यार्सा सङ्कलनमा रोक लगाएको थियो । यस वर्ष भने कुनै सूचना जारी गरिएको छैन । जिल्लामा दिन प्रतिदिन सङ्क्रमित बढ्दै गए पनि  कुनै निकायको ध्यान गएको छैन ।

यार्सा सङ्कलन गरिने पाटनमा हिउँ पग्लिन  थालेपछि सङ्कलक वन क्षेत्रमा जाने क्रम बढेको बुङ्गल –२ का आनन्द धामीले बताए । उनले भने , “केही वर्षयता यार्सा खासै पाइँदैन  । गत वर्ष कोरोना महामारीका कारण भएको बन्दाबन्दीले सङ्कलनको काम प्रभावित भयो । यार्सा सङ्कलन गर्न नपाउँदा रोजीरोटी खोसियो । यस वर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुइँचो लाग्न थालेको छ ।”

बुङ्गलका धौलाढुङ्गा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे  सुर्मा तथा साइपाल गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुङ्गा, माझा, फरालखेत, कालापानी, राइढुङ्गी, स्याङ्वनलगायत वन क्षेत्रमा सङ्कलक पुगिसकेका छन् ।

आयआर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडिबुटी हो ।  गत वर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा सङ्कलन गर्न सकिएन । घर खर्च चलाउन धौधौ भयो । यार्साबाट मात्रै एक परिवारले तीन महिनाका अवधिमा रु तीन लाखदेखि सात लाख जति आम्दानी गर्छ । यार्सा तथा जडिबुटी सङ्कलन नगरे भोकमरीको चपेटामा परिन्छ ।” 

प्रतिक्रिया दिनुहोस