‘किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ’ : कृषि मन्त्री परियार

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०८२, १६ : ४२
‘किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ’ : कृषि मन्त्री परियार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन् ।

आज सिंहदरवारमा मौरीपालक किसानहरूसँगको छलफलमा मन्त्री परियारले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय नगरिने प्रतिबद्धता पनि जनाएका छन् । 

बहुराष्ट्रिय कम्पनीहरूलाई मह आयात गर्न दिने निर्णय गरेपछि रुष्ट बनेका किसानहरूसँग उनले आज मन्त्रालयमै छलफल गर्दै विगतको सहमतिका आधारमा एक पटकका लागि किसान प्रतिनिधिकै रोहबरमा आयात गर्न दिएको जानकारी दिए । 

आगामी दिनमा पनि मौरीपालक किसानसँगको छलफलपछि मात्रै निर्णय गर्ने उनले आश्वासन दिए। उनले मौरीपालक किसानका समस्या र समाधानका उपाय खोज्न मन्त्रालयले एक समिति बनाएको र समितिले अध्ययन पनि गरिरहेको जानकारी दिए।

मौरीपालक किसानहरूले भने महको आयात रोक्नुपर्ने र नेपाली किसानले उत्पादन गरेको मह बहुराष्ट्रिय कम्पनीहरूले खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

सो विषयमा मन्त्री परियारले त्रिपक्षीय छलफल गरेर उचित निर्णय लिइने पनि बताए। उनले महको बजारीकरणका समस्या र समाधानका उपायका बारेमा सुझाव दिन पनि अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस