दीपक मनाङ्गेलाई मन्त्री बनाए पनि गण्डकी प्रदेशमा एमाले सरकारलाई बहुमत नपुग्ने

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १८ : ४३
दीपक मनाङ्गेलाई मन्त्री बनाए पनि गण्डकी प्रदेशमा एमाले सरकारलाई बहुमत नपुग्ने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री दीपक मनाङ्गेलाई मन्त्री बनाए पनि एमालेको पृथ्वी सुब्बा गुरुङको नेतृत्व टिक्न बहुमत नपुग्ने प्रष्ट देखिन्छ ।नेकपा एमालेले गण्डकी प्रदेशमा सरकार टिकाउनकै लागि दीपक मनाङ्गेलाई विहीबार युवा तथा खेलकूद मन्त्री बनाए पनि उसको सरकार टिक्नेमा शंका छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई मन्त्री बनाइएको हो । 

मनाङ्गेलाई मन्त्री बनाइएको भए पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध परेको अविश्वासको प्रस्ताव असफल पार्नका लागि सत्तारुढ एमालेलाई आवश्यक संख्या पुग्दैन । दीपक मनाङ्गेलाई समेत जोड्दा एमालेसँग २८ मत मात्र छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, माओवादीका ११ जनमोर्चाका ३ र जसपाका २ गरी ३१ सीट पुग्छ । चारवटै दलले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताइसकेका छन् । बराबरी भएको अवस्थामा निर्णायक मत दिन पाउने सभामुख पनि माओवादीकै छन् ।  

जनमोर्चाका सांसद खिमविक्रम शाहीले पनि पार्टीको निर्णय पालना गर्ने भन्दै वक्तव्य निकालिसकेका छन् । विहीबार मनाङ्गेसँगै माधव नेपाल पक्षमा सांसद इन्द्रलाल सापकोटा र जनमोर्चाका कृष्ण थापालाई पनि मन्त्री बनाइन लागेको हल्ला चलेको थियो । तर, सापकोटाले आफू मन्त्री नहुने बताइसकेका छन् भने जनमोर्चाका नेताहरुले आफ्ना सांसद पार्टीको अनुशासनप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

यस प्रदेशमा माधव नेपाल पक्षका सांसद एकजना मात्रै छन् । माधmव नेपाल पक्षका सापकोटाले फ्लोर क्रम नगर्दा पनि अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस