विद्रोहीले पनि छाड्न थाले गुटा

आइतबार, १८ चैत्र २०७४, १० : ०१
विद्रोहीले पनि छाड्न थाले गुटा

सिरिया । सिरियाको गुटाबाट झण्डै पाँच हजार विद्रोही र उनीहरुका परिवारजन बाहिरिएका छन् । राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले दिएको जानकारीअनुसार शुक्रबार राति विद्रोही र उनीहरुका पारिवारिक सदस्य गरी कुल चार हजार आठ सय ४९ जनाले गुटा छाडेका हुन् ।

विद्रोहीहरुको पक्कड रहेको भनिएको गुटा क्षेत्रबाटै यसरी विद्रोहीहरु विस्थापित भएको यो पछिल्लो घटना हो । यसअघि यस्तै घटना सात चरणमा भएको छ ।

लगातारका हिंसात्मक घटनाका कारण लाख भन्दा बढी सर्वसाधारण सुरक्षित ठाउँ खोज्दै गुटाबाट विस्थापित भइरहेका बेला अहिले विद्रोहीहरु पनि विस्थापित हुन लागेका हुन् । एक दिन अगाडि मात्रै पनि सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जना सुरक्षित स्थानतर्फ सरेका थिए ।

उनीहरुले गुटा क्षेत्र छोड्न पाउने विकल्प सरकारले दिएको छ । सिरियाली विद्रोही समूह र सिरियाली सरकारबीच उनीहरुलाई गुटा छोडेर अन्यत्रै बस्न दिने सम्झौता भएको बताइएको छ ।

हाल रुसको समर्थन रहेको सिरियाली सैन्य बलले विद्रोहीको नियन्त्रणमा रहेको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ । केही महिनायता पूर्वीगुटामा रुसी समर्थनमा सिरियाली सैन्यले गर्दै आएको हवाई कारबाहीमा परी सयौँ सर्वसाधारणले ज्यान गुमाएपछि रुस र सिरिया सरकारले त्यहाँ युद्ध विरामको घोषणा गरेका थिए ।

सिरियामा राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सन् २०११ मा जनआन्दोलन शुरु भएको थियो । त्यसपछि शुरु भएको गृहयुद्ध अहिले चलिरहेको हो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस