ओपीडी सेवा बन्द गर्न सरकारको अस्पतालहरुलाई निर्देशन

बुधबार, १५ बैशाख २०७८, ०७ : ५६
ओपीडी सेवा बन्द गर्न सरकारको अस्पतालहरुलाई निर्देशन

काठमाडौँ । चिकित्सकलगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ ।

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था तत्काल गर्न पनि भनेको छ । कोरोना संक्रमितको संख्या बढेकाले बिदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्कन पनि मन्त्रालयले निर्देशन दिएको छ । मुलुकभरिका सरकारी अस्पताल संक्रमितले भरिएपछि अपुग जनशक्ति व्यवस्थापन गर्न चिकित्सकलगायतलाई लामो बिदा नदिन र यसअघि लामो बिदामा बसेकालाई तुरुन्त कार्यालयमा हाजिर हुनका लागि पत्राचार गर्न निर्देशन दिएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका दरबन्दी भए पनि कर्मचारीले भनसुन गरेर अन्यत्र काजमा र बिदामा बसेको पाइएको छ । नेपालगन्जमा सीमित जनशक्तिबाट सेवा दिन बाध्य भएको मन्त्रालयबाट अनुगमनमा खटिएका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले बताए । ‘भेरी अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी ६० जनाभन्दा बढी संक्रमित छन् ।

उनीहरूले नै २ सय ६ जना संक्रमितको उपचार गरिरहेका छन्,’ उनले भने, ‘धेरै जना त आईसीयूमै छन् । १० जना भेन्टिलेटरमा छन् । एक जना बिरामी बराबर १ जना नर्स हुनुपर्ने, त्यो पनि छैन ।’ भेरी अस्पतालमा एक जना मात्रै एनेस्थेसियाका चिकित्सक रहेको उनले बताए । त्यहाँ जुम्ला र अन्यत्रबाट चिकित्सक ल्याउने पहल भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस