सरकारले स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने,कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १७ : ०७
सरकारले स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने,कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय

काठमाडौं । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो।  

स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ । 

सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने  बैठकले निर्णय गरेको हो । 

यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचार भने सुनिश्चित गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 यस्तै बैठकले सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।