बजारमा मास्कको मूल्य ह्वात्तै बढाइयो

पत्रपत्रिकाबाट

मंगलबार, १४ बैशाख २०७८, ०८ : ०१
बजारमा मास्कको मूल्य ह्वात्तै बढाइयो

काठमाडौ । बजारमा मास्क, स्यानिटाइजरलगायत सर्जिकल सामानको कृत्रिम अभाव गराएर अस्वाभाविक मूल्यवृद्धि हुन थालेको छ ।  पछिल्लो दुई दिनमै बजारमा मास्कको मूल्य ह्वात्तै बढेको छ ।

यसअघि प्रतिपिस होलसेल मूल्य ३ रुपैयाँमा पाइने मेडिकल मास्क अहिले बढेर ५ रुपैयाँसम्म पुगेको छ । कोभिडको संक्रमण बढ्दै गएपछि बजारमा मास्कको खपत बढ्दै गएका कारण व्यवसायीले अभाव देखाएर मूल्य बढाउन थालेका छन् ।

बुद्धनगरस्थित बीएन सप्लायर्सका सञ्चालक नारायण न्यौपानेले बजारमा मास्कको अभाव भएकाले मूल्य बढ्न गएको बताए । यसअघि प्रतिप्याकेट १५० रुपैयाँ पर्ने मेडिकल मास्कको मूल्य अहिले १८० रुपैयाँ पुगेको उनको भनाइ छ ।

होलसेल मूल्य ३ देखि ४ रुपैयाँमा पर्ने मेडिकल मास्कको खुद्रा मूल्य प्रतिपिस १० रुपैयाँ पर्छ । कोभिड संक्रमणबाट जोगिनका लागि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने भएकाले पनि बजारमा यसको खपत बढ्दै गएको छ । अघिल्लो वर्ष पनि मास्क अभाव भएर प्रतिपिस ३० रुपैयाँसम्म पुगेको थियो ।

मुलुकमा पर्याप्त मात्रामा मास्क उत्पादन भए पनि अभाव देखाएर व्यवसायीले मूल्य बढाएका हुन् । मुलुकमै उत्पादन भए पनि अभाव हुन सक्ने भन्दै उपभोक्ताले खरिद गरेर राख्न थालेपछि अभाव हुन थालेको व्यवसायीको भनाइ छ । न्युरोडका व्यापारी सञ्जय पोखरेलले मास्कको मूल्य बढेर आएकाले प्रतिप्याकेट २ सय ५० रुपैयाँ बिक्री गरिएको जानकारी दिए । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस