किन टेर्दैनन भरतपुर महानगरलाई फुटपाथ व्यवसायी ? (भिडियोसहित)

शनिबार, १७ चैत्र २०७४, १४ : ५७

चितवन । भरतपुर महानगरपालिकाले नारायणगढ र भरतपुर बजार क्षेत्रमा रहेका फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न विभिन्न विकल्प अघि सरेको छ । महानगरले फुटपाथ व्यवस्थापनका लागि विभिन्न विकल्प सोचेपनि फुटपाथ व्यवसायीहरुले भने महानगरलाई टेरपुच्छर लगाएका छैनन् ।

भरतपुर महानगरलाई व्यवस्थित बजार बनाउन विभिन्न प्रयास भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनु भयो । नारायणगढ र भरतपुरको फुटपाथ र व्यवस्थित पार्किङका लागि महानगरले कार्यदल निर्माण गरेर अहिले छलफलहरु भइरहेका छन् । महानगर प्रमुख दाहालले विकल्पको व्यवस्था गरेर नै फुटपाथको व्यवसायलाई व्यवस्थापन गर्ने बताउनु भएको छ ।

भरतपुरमा आज शनिबार भएको अखिल नेपाल स्वरोजगार श्रमिक सघंको चौथो जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महानगर प्रमुख दाहालले नगर विकासको महानगरको चाहना बुझ्न फुटपाथ व्यवसायीहरुलाई आग्रह गर्नुभयो । ‘हामीले फुटपाथको उचित व्यवस्थापनको लागि ठाउँहरु तय गरेका छौं । तपाईंहरुले पनि सुन्दर शहर निर्माणका लागि हामीलाई सहयोग गर्नुहोस्’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘महानगरले खोजेको ठाउँमा तपाईंहरु जानुपर्छ । नगरको विकास गर्नु हामी सबैको दायित्व हो ।’

व्यवस्थापनमा मुख्य समस्या के ?

भरतपुर महानगरपालिकाले अहिले फुटपाथ व्यवसायीहरुलाई भरतपुर ओरालोमा रहेको एनपीआई पछाडि सार्ने भनेको छ । फुटपाथ व्यवसायीहरु भने त्यहाँ जान तयार छैनन् । उनीहरु आफूले चाहेको ठाँउमा बस्न पाएमात्र जाने मनस्थितिमा छन् । भरतपुर केन्द्रीय बस टर्मिनल अगाडि रहेको सहकारी विकास बोर्डको जग्गा, नारायणी मावि अगाडिको प्राङ्गण, पशु सेवा कार्यालय नजिकको खाली जग्गा, चितवन माविको चौबीसकोठीमा रहेको जग्गामा स्थानान्तरण हुनुपर्ने उनीहरुको अडान छ ।

लामो समयदेखि फुटपाथमा व्यवसाय गर्नेहरुको संख्या दिनहुँजसो वृद्धि भएको छ । उनीहरुले विभिन्न समिति गठन गरेका छन् । फुटपाथ व्यवसायीहरुको संख्यामा वृद्धि हँुदै जानुले पनि यो समस्या जटिल बन्दै गइरहेको छ । भरतपुर महानगरपालिकाले खोजेको ठाउँहरु उनीहरुको रोजाईमा नपर्नाले फुटपाटको व्यवस्थापनमा कठिनाई भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस