यी हुन् कांग्रेस, कम्युनिष्ट र राप्रपाका कलाकार !

विहीबार, १४ मंसिर २०७४, १२ : ०५
यी हुन् कांग्रेस, कम्युनिष्ट र राप्रपाका कलाकार !

१४ मंसिर, काठमाडौं ।  दोहोरी साँझहरुमा लोकगीतको भाका घन्काउने बद्री पंगेनीलाई यतिबेला  चुनाव लागेको छ । लोकगीतका पारखी पंगेनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसामा गीत घन्काउन व्यस्त छन् ।

पंगेनीको चुनावी यात्राका कारण उनले आफ्ना गैरकम्युनिष्ट स्रोताहरुको मनबाट उठीबास हुनुपर्ने स्थितिप्रति भने उनले कुनै वास्ता गरेका छैनन् । लाउ चेली सिन्दुर लाउ, ख्यालख्यालमै दिल बस्यो ‘जस्ता चर्चित गीत गाएका पंगेनी अहिले लगभग भजनकै शैलीमा ओली र प्रचण्डको महिमा गाउँदैछन् । जहाँ बाम गठबन्धनका शीर्ष नेताहरु पुग्छन् त्यहीँ त्यहीँ पुगेर प्रशस्ति गाउने गरेका पंगेनी आफू एमालेसँग नजिक भएकाले एमालेको गीत गाएको बताउँछन् । पंगेनी भन्छन्-‘आज मात्रै हैन, मैले ०५१ सालदेखि एमालेको गीत गाउँदै आएको छु ।’

तर, एउटा गायक यसरी एउटा पार्टीको गीत गाएर हिँड्नु उचित हुन्छ त रु जवाफमा उनी भन्छन् ‘हरेक कलाकारको आ-आफ्नो विचार हुन्छ । गीतमार्फत विचार प्रस्तुत गरिनुलाई अन्यथा मान्न मिल्दैन ।’ तर, केही दिन चुनावी गीत गाए पनि व्यवसायिका गायनवाट पछि नहट्ने उनको भनाइ छ ।

यसरी पार्टीको नारालाई चुनावी गीतको भाकामा उन्ने पंगेनी एक्ला कलाकार भने होइनन् । यस्ता कलाकर्मीहरु धेरै छन्, जो पार्टीका पछिपछि दौडिइरहेका छन् ।

कोमल वली, कैले राप्रपा, कैले एमाले !

चर्चित लोकगायिका कोमल वलीका धेरै फ्यानहरु छन् । ती फ्यानहरु कुनै दलविशेष नभएर सबै दलका छन् । तर, राजनीति गर्ने भन्दै उनी रेडियो नेपालको जागिर छोडेर कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरिन् । तर, राप्रपा ठूलो दल नहुने देखेपछि दलबदल गरेर एमालेमा गइन् ।

स्थानीय निर्वाचनमा राप्रपाले आयोजना गरेको चुनावी सभामा सहभागी हुँदै हिन्दु राष्ट्र जोगाउन राप्रपालाई भोट भन्दै हिँडेकी कोमल अहिले बामगठबन्धनलाई भोट माग्न ब्यस्त छिन् । स्थानीय चुनावमा कमल थापा सहभागी हरेक कार्यक्रममा मञ्चमा आसीन कोमल अहिले केपी ओलीको छेउमा देखिन थालेकी छिन् । दाङ क्षेत्र नम्बर ३ वाट प्रतिनिधि सभामा टिकट पाउने आशमा एमाले प्रवेश गरेकी कोमलले एमालेवाट उम्मेदवार बन्ने अवसर त पाइनन् । तर, एमालेका लागि भोट माग्ने अवसर भने पाएकी छिन् ।

हिजोसम्म हिन्दु राष्ट्र भन्दै हिँडेकी उनी राप्रपा कार्यकर्ताले केन्द्रीय सदस्यका लागि दिएको मतको अपमान गर्दै एमालेमा त गइनन् नै, तर त्यहाँ पनि कति दिन निष्ठाको राजनीति गर्ने हुन्, पत्याइहाल्ने अवस्था छैन । तर, राम्रो स्वरकी धनी ‘गायिका कोमल वली’ यतिबेला राजनीतिक स्वार्थसिद्धिमा लागेपछि उनका फ्यानहरुको नजरमा कुन स्थानमा छिन्, यसको हिसाब हुन सकिरहेको छैन ।

 राधिका हमालः दुखका गीत छाडेर रुखका गीत !

लोकगायनको क्षेत्रमा राधिका हमालको नाम नसुन्ने र उनको फ्यान हुँ नभन्ने मानिसहरु कमै होलान् । तर, अब उनलाई कांग्रेसकी गायिक ठान्नुपर्ने स्थिति आएको छ । स्थानीय चुनावमा रोल्पाको त्रिवेणी गाउँ पालिकामा नेपाली कांग्रेसकातर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी राधिका हमालले गाउँ गाउँ डुलेर रुखमा भोट मागिन् । भाषण कम र गीत धेरै गाएर भोट मागेकी हमाललाई जनताले विश्वास गरेनन् र उनी हारिन् । तर, उनको नेपाली कांग्रेस पार्टीप्रतिको मोह अझै बाँकी नै छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि पनि नेपाली कांग्रेसले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदै आएकी राधिकाले कांग्रेसलार्इ भोट हाल्न अपील गर्दै चुनावी गीत गाइरहेकी छिन् ।

मनोज गजुरेलः कम्युनिष्टलाई हँसाउने, अरुलाई‘ ?

हास्य व्यङ्ग्यको क्षेत्रमा सुपरिचित अर्का कलाकार मनोज गजुरेललाई पनि राजनीति गर्न भ्याइ नभ्याई छ । विभिन्न स्टेज कार्यक्रममा सबै दलका शीर्षनेताको उछितो काढ्ने गरेका गजुरेल अहिले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको गाथा गाउँदै बाम गठबन्धनका लागि भोट माग्न ब्यस्त छन् ।

आफू कम्युनिष्ट विचारवाट प्रभावित भएको बताउने गजुरेल कलाकारले कुनै पनि पार्टीका लागि भोट माग्नुलाई अन्यथा मान्न नहुने बताउँछन् । एमाले पृष्ठभूमिबाट कलाकारितामा आएका गजुरेलले पछिल्लो समय महजोडीको रिक्त स्थान पूरा गर्ने गरी आफ्नो क्षमता विकास गरेका छन् । तर, सर्वस्वीकार्य कलाकार हुनुपर्ने बाटोमा लाग्नुको साटो उनी अमूक पार्टीको चुनावी कार्यक्रममा हिँडेका छन्, जसले गर्दा गैरवाम फ्यानहरुलाई उनले गुमाउने अवस्था देखिन्छ ।

विष्णु खत्रीः प्रचण्डको प्रशस्तीमा व्यस्त

चर्चित लोकगायक विष्णु खत्री पनि स्थानीय निर्वाचनमा झण्डैले उम्मेदवार बनेका थिए । बाग्लुङको गलकोट नगरपालिका प्रमुखका लागि माओवादी पार्टीवाट उम्मेदवार सिफारिस भएका विष्णु अन्तिममा उम्मेद्वारलाई सहयोग गर्न सीमित भए । चुनावमा खत्रीले धेरै समय गलकोटमै बिताए ।

माओवादी अध्यक्ष प्रचण्ड सहभागी हरेक कार्यक्रममा सहभागी भएर गीत गाएका विष्णु यसपालिको चुनावमा बामगठबन्धनका लागि सबैभन्दा धेरै गीत गाउने कलाकारका रुपमा चिनिन्छन् । खत्री जस्तै माओवादी र वाम गठबन्धनका धेरै गीत गाउने मध्येका अर्का कलाकार नविन खड्का पनि हुन् । उनले टीका पुनको साथमा थुप्रै गीत गाउनुका साथै वाम गठबन्धनका सभाहरूमा सहभागी हुने गरेका छन् ।

करिष्मा कट्टर, रेखा ढल्पल ढल्पल !

माओवादी अध्यक्ष प्रचण्ड सत्तावाट बाहिरिएपछि काठमाडौमा माओवादीले आम हड्ताल गर्‍यो । सो कार्यक्रममा सहभागी भइन् नायिका रेखा थापा । भद्रकालीमा प्रचण्डसँगै कुम जोडेर नाचेपछि चर्चामा आएकी रेखा त्यसको केही महिनापछि ‘लाल अभिवादन’ भन्दै माओवादी प्रवेश गरिन् । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीवाट उम्मेदवार बन्ने अन्तिम तयारीमा रहेकी रेखा मतदाता नामावलीमा नामै नभेटिएपछि मतदातासमेत हुन पाइनन् । माओवादीमा गएपछि तत्कालीन वाइसियल अध्यक्ष सागर थापालाई भाइटीका समेत लगाएकी रेखा त्यसपछि कमल थापाको पार्टीमा प्रवेश गरिन् । त्यसबेला उनले ‘मेरो पहिलो र अन्तिम पार्टी नै यही भएको’ बताइन् । तर, अहिले कमल थापाको समूहलाई छाडेर उनी पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा लागेकी छिन् ।

रेखाले सिन्धुपाल्चोकमा पशुपतिसमशेरका लागि भोट मागिन् । चुनावमा टिकट पाउने चर्चा भए पनि उनलाई राप्रपा प्रजातान्त्रिकले टिकट दिएन । राजनीति सँगसँगै रेखाले चलचित्र कर्म पनि जारी राखेकी छिन् । तर, चाँडो चाँडो हुने गरेको दलबदल एवं राजनीतिक अपरिपक्वताका कारण उनले फिल्म लाइनका फ्यानहरु घटाउँदै लगेको सहजै बझ्न सकिन्छ । उनको राजनीति ढल्पल ढल्पल हुने गरेको छ ।

रेखाजस्तै राजनीतिमा लागेकी अर्की नायिका हुन् करिष्मा मानन्धर । करिष्माले यसपटक डा. बाबुराम भट्टराईका लागि भोट मागिन् । र, उनी आफैं पनि नयाँशक्तिबाट समानुपातिक उम्मेदवार छिन् । मूलधारको राजनीतिबाट अलग्गिएर एण्टी करेन्ट बाटोमा लागेका बाबुरामलाई उनका धेरै सहयात्रीले छाडे पनि करिष्माले साथ दिइरहेकी छिन् । उनी निकै कट्टर भएर सानो पार्टीमा सक्रिय बनेकी छिन् । यद्यपि चुनाव सकिएपछि आफूले राजनीतिका साथै चलचित्र कर्मलाई पनि अघि बढाउने कोमल बताउँछिन् । राजनीतिक प्रकृतिकै स्त्रिmप्ट तयार भइरहेको उनको भनाइ छ ।

केही समय पहिले करिष्मा एमाले प्रवेशको हल्ला चलेको थियो । तर, उनले दलबदल गरेकी छैनन् । चाँडो दलबदल गर्नेमा कोमल ओली र रेखामा एउटा प्रवृत्ति देखिएको छ भने करिष्माले अर्को धारको नेतृत्व गरेकी छिन् । तर, राजनीतिमा करिष्मा जति नै कट्टर भएर लागे पनि उनको यो फरक धारको राजनीतिक यात्रालाई उनका फिल्मी फ्यानहरुले त्यति रुचाइरहेका छैनन् भन्ने कुरा सामाजिक सञ्चालमा उनको आलोचनामा आउने टिप्पणीहरुले संकेत गरिरहेका छन् । करिष्मा सबैकी साझा कलाकार नभएर नयाँशक्तिकी नेतृ मात्र बनेकी छिन् अहिले ।

त्यसो त करिष्मासँगै नायक सरोज खनाल पनि नयाँशक्तिमा लागेका थिए, तर उनी अहिले राजनीतिमा सक्रिय छैनन् । सुरुमा नायिका रेखा थापा पनि नयाँ शक्तिमा प्रवेश गर्ने चर्चा चलेको थियो, तर उनले करिष्मासँगको ‘इगो’ का कारण राप्रपा नेपाल रोजिन् ।
राजनीतिक आवद्धताको कुरा गर्दा बरिष्ठ कलाकार नीर शाह लगायतका धेरै व्यक्तिहरुले कांग्रेसको टीका लगाएका छन् । तर उनीहरु चुनाबी सभामा भोट माग्ने तहमा उत्रिएको देखिँदैन ।

कसैको ‘रिल’ चलेन, कोही गुमनाम
माओवादी पार्टीको समानुपातिक उम्मेद्वारको सूचीमा परेका कलाकार नवल खड्का अहिले बाम गठबन्धनलाई भोट माग्न भन्दै गृह जिल्ला खोटाङ पुगेका छन् । माओवादी शान्ति प्रकृयामा आएलगत्तै माओवादी आन्दोलनको विषय छोएर चलचित्र बनाएका नवलले शहीद भीमदत्तमाथि अर्को फिल्म बनाए भीमदत्त । दुवै चलचित्र व्यवसायिकरुपमा असफल भएपछि नवल अहिले रिलबाट होइन, रियल मैदानबाट बाम गठबन्धनलाई भोट दिए देश बन्छ भन्दै हिँडेका छन् ।

कुनै एक समय चल्तीका निर्देशक मानिन्थे दीपक श्रेष्ठ । पहिलो संविधान सभा निर्वाचनमा माओवादीको समानुपातिक सूचीमा उम्मेदवार बनेका श्रेष्ठ अन्ततः सूचीमै सीमित भए । माओवादीद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागी श्रेष्ठलाई पनि अहिलेका पुस्ताका दर्शकले लगभग चिन्न छाडेका छन् । पार्टीमा लागेर पनि खासै भाउ पाउन सकेनन् । र, उनी अहिले कसैलाई भोट मागेर पनि हिँडेका छैनन् । राजनीतिमा मुछिएसँगै उनी फिल्म लाइनमा लगभग निष्क्रिय जस्तै बनेका छन् ।

त्यसैगरी माओवादी शान्ति प्रकृयामा आएलगत्तै संगीतकार चेतन सापकोटा चल्तीका माओवादी भए । माओवादी पार्टीले आयोजना गरेका हरेक कार्यक्रममा सहभागी भएर गीत गाउदै आएका सापकोटाले फिल्मी संगीतमा पनि माओवादीलाई मात्रै महत्व दिए । विभिन्न कलाकारलाई माओवादी पार्टी प्रवेश गराउनमा मुख्य भुमिका निर्वाह गरेका सापकोटा अहिले गुमनाम छन् । पार्टी राजनीतिकै कारण चलचित्र संगीतमा उनको उपस्थिति शून्यको स्थितिमा पुगेको छ भने माओवादी पार्टीले पनि पछिल्लो समय उनलाई भाउ दिन छाडेको छ ।

प्रश्नः राजनीतिमा आस्थाले कि स्वार्थले ?

०४६ सालमा बहुदलीय प्रजातन्त्र पुर्नस्थापना हुँदासम्म कुन कलाकार कुन पार्टीमा आबद्ध छन् भनेर खुल्न डराउथे । कलाकार सबैको साझा हुनुपर्छ भन्ने उनीहरुको मान्यता थियो । जब ०६२/०६३ सालमा दोस्रो जन आन्दोलन सुरु भयो, कलाकारहरु सबका साझा हुन् भन्ने मान्यता तोडियो र कांग्रेस, एमाले र माओवादीका भातृसदस्यका रुपमा कलाकारहरु बाँडिन थाले ।

गीतसंगीत र चलचित्र क्षेत्रसंग सम्बन्धित विभिन्न संघसंस्थामा हुने निर्वाचनमा कलाकर्मीका रोजाइका ब्यक्तिहरु उम्मेदवार बन्न पाएनन् । त्यसमा पनि टेकु, बल्खु (हाल धुम्बाराही) र पेरिसडाँडाको इशारामा उम्मेदवार तोकिए । दलका आदेश अनुसार भोट हाल्न वाध्य भए कलाकारहरु । जेबी टुहुरे, जीवन शर्मा, रामेश, रायन, खुसीराम पाख्रिन, माइला लामालगायतले जीवनभर पार्टी र राजनीतिका गीत गाएकै हुन् । उनीहरु जनवादी गायकका रुपमा चिनिन्छन् । र, उनीहरुले दलको मञ्चमा गएर गीत गाउनुलाई स्वाभाविकै रुपमा लिइन्छ ।

तर, अहिले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका चुनावी गीत गाउन र भाषण गर्न व्यस्त कलाकारहरु आफूलाई जनवादी कलाकारका रुपमा दावी गर्दैनन् । जीवनभर युवतीका अंगको बखान गरिएका गीत गाउनेहरु यतिबेला जनवादी गायकहरुलाई पछाडि पार्दै केपी ओली र प्रचण्डको भजन गाउँन मैदानमा उत्रिएका छन् । पछिल्लो समय धेरै कलाकार पार्टीमा लाग्नुमा पार्टीप्रतिको लगाव भन्दा पनि भागवण्डा पाइने मोह बढी देखिएको छ । चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठान, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत दर्जनौ संस्थामा दलहरुले कार्यकर्ता भर्ती गर्ने चलन बसाएपछि कलाकार समेत कार्यकर्ताको रुपमा भर्ती हुने होडबाजीमा छन् । र, त्यसैको लगानीस्वरुप उनीहरुले यतिबेला दलका चुनावी सभामा आफ्नो उपस्थिति देखाइरहेका छ होइनन् ? प्रश्न गर्ने ठाउँ छ ।

प्रतिक्रिया दिनुहोस