ट्राफिक प्रहरीको अनुरोध : अनिवार्य मास्कको प्रयोग गरौँ

रासस

शुक्रबार, १० बैशाख २०७८, २० : ३८
ट्राफिक प्रहरीको अनुरोध : अनिवार्य मास्कको प्रयोग गरौँ

काठमाडौं । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापीरूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै आजदेखि सचेतनामूलक अभियान सञ्चालन गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक सवारी साधनमा कोरोना सङ्क्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाई गर्नका लागि जनचेनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

“हामीले महाशाखासहित काठमाडौँ उपत्यकाका ४३ वटै ट्राफिक कार्यालयलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनेका छौँ”, महाशाखा प्रमुख भट्टराईले भन्नुभयो । 

ट्राफिक प्रहरीले सडकमा बसेर पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको हो । पछिल्लो समय नेपालमा दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ उपत्यकामा १० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस