काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताएका छन्। ओलीले नेता माधवकुमार नेपालसँग बुधबार दुई घण्टा ‘वान टु वान’ कुराकानी गरेका थिए।
उक्त कुराकानी भएको भोलिपल्ट बिहीबार बल्खुस्थित नेकपा एमाले केन्द्रीय कार्यालय भवन शिलान्यासमा पुगेका ओलीले यस्तो बताएका हुन् । ‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।’ उनले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्।
पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता नेपाल लगायतलाई संकेत गर्दै ओलीले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए।कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने उनले प्रष्ट पारेका हुन्।
‘हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं।’ कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई उनले अराजकता भनेका छन्।
उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्। ‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं। तर यसलाई कसैले कमजोरी नठानियोस्,’ उनले भने। आफूलाई केही पहिले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको भन्दै उनले आपत्ति जनाएका थिए।
‘हामीविरूद्ध हमला यस्तो भयो कि साधारण सदस्य पनि नरहने गरी हटाइयो। केपी ओलीलाई सिध्याइयो। धुलोमा मिलाएँसमेत भनेका थिए,’ उनले भने, ‘ममाथि किन यस्तो आक्रमण थियो भने टाउकोमा हान्यो भने शरीर ढल्ने भयो। टाउकोमा हान्ने नीति उनीहरूको रह्यो।’
उनले आफूहरूको पार्टी कब्जा गर्ने र आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भएको पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी