काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ ज्वाला संग्रौलाले पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ‘ज्वाला’ हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएकी छन् ।
यस विषयमा यथासिघ्र अनुसन्धान हुनुपर्ने उनको माग छ । महाधिवेशनमा नेतृत्व चयनका लागि गठित निर्वाचन आयोगका प्रमुखलाई सम्बोधन गर्दै उनले उजुरी दिएकी हुन् । आफ्नो नाम ‘टिका संग्रौला (ज्वाला) रहेको र यही नामले महाधिवेशन प्रतिनिधि बन्नुका साथै मनोनयन दर्ता गराएको उनले बताएकी छन् ।
उजुरीमा उनले लेखेकी छन्, ‘पार्टीको वेवसाइटमा मेरो नाम केन्द्रीय सदस्य टिका संग्रौला ‘ज्वाला’ रहेको र यसै अनुसार महाधिवेशन प्रतिनिधि हुँदै उम्मेदवार बन्दा समेत यही नाम रहेकोमा भोटिङ मेसिनमा ‘टिका संग्रौला’ मात्रै राखिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा के भएर नाम हटेको हो, यथासिघ्र अनुसन्धान गरियोस ।’
यस प्रक्रियाबाट आफूमाथि हुन गएको अन्याय र क्षतिको जिम्मा कसले लिने हो भन्ने पनि निर्वाचन आयोगले जवाफ दिनुपर्ने संग्रौलाको माग छ ।
भोटिङ मेसिनमा थुप्रै उम्मेदवारहरुको ‘परिचित नाम’ राखिएको भए पनि आफ्नो भने बदनियतपूर्वक हटाइएको भन्दै ज्वालाले आक्रोश व्यक्त गरेकी छन् । आफ्नो नाम नचिनेर कयौं प्रतिनिधिले भोट नहालेको उनी बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०८३, १३ : २५
लेखकबाट थप