जहाजभित्रै नेपाली यात्रुले यस्तो हर्कत गरेपछि दिल्लीमा अकस्मिक अवतरण

पत्रपत्रिकाबाट

शनिबार, १७ चैत्र २०७४, ०६ : ५६
जहाजभित्रै नेपाली यात्रुले यस्तो हर्कत गरेपछि दिल्लीमा अकस्मिक अवतरण

काठमाडौं : नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो । चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिर्वतन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्यो ।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधि समस्या भएर होला । तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मारेङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो ।

जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरुलाई दुर्व्यवहार गर्न सुरु गरे । सम्बद्ध स्रोतले भन्यो, नौ नम्बर सीटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याएदिने मात्र नभई सँगै आएको साथीलाई हातपात समेत गरे ।

त्यतिले नपुगेर जहाजकी एक एयर होस्टेजलाई घचेडेर झन्डै पछारिदिएका थिए । रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि जहाजबाट हटाउनैपर्ने गुनासो गरे अनि क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्दले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराए ।

त्यसपछि सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइदिए । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ । चालक दलका एक सदस्यले आफ्नो नाम नबताउने सर्तमा भने, रतेलले यतिसम्म बबाल गरे कि, उनलाई काठमाडौंसम्म ल्याउन सक्ने अवस्थै रहेन । त्यही जहाजमा रहेका केही यात्रुका अनुसार, रतेलले जहाज चढ्नुअघि नै दुबईमा मदिरा पिइसकेका थिए । निगमले भने यो रुटमा यात्रुलाई खानाबाहेक मदिरा दिने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस