चितवन विशेष

भरतपुर महानगरको २९ वडाका ६२ जना निर्वाचित महिला एकै थलोमा

शुक्रबार, १६ चैत्र २०७४, १५ : ५६
भरतपुर महानगरको २९ वडाका ६२ जना निर्वाचित महिला एकै थलोमा

चितवन । भरतपुर महानगरभित्र रहेका २९ वटा वडाका ६२ जना निर्वाचित जनप्रतिनिधि महिलाहरु स्थानीय तह सञ्चालनबारे ज्ञान हासिल गर्न आज शुक्रबार भरतपुरमा जम्मा भएका छन् । भरतपुर महानगरपालिकाले २९ वटै वडामा निर्वाचित महिला जनप्रतिनिधिहरूका लागि आयोजना गरेको स्थानीय तह सञ्चालन सम्बन्धी क्षमता विकास कार्यक्रममा उनीहरु सहभागी भएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहाल रहनु भएको थियो । उहाँले महिला जनप्रतिनिधिलाई सम्बोधन गर्दै यस कार्यक्रमले महानगरपालिकाको सबै वडाका महिला जनप्रतिनिधिबाट हुने कार्यसम्पादनमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
‘बदलिँदो परिवेशमा हामी नितान्त नयॉ अभ्यासमा छौं’ उहाँले भन्नुभयो, ‘सिकाई र भोगाइलाई ब्यवहारमा लागु गर्दै कार्यसम्पादनमा सहजता ल्याउन निर्वाचित महिला जनप्रतिनिधिहरूलाई यो कार्यक्रम आयोजना गरिएको हो । आफूले नजानेका कुरा सिकेर सिकेका कुरा जनहितमा लागु गर्नु होला ।’ उहाँले योजना तर्जुमा, कार्यान्वयन, कार्य ब्यवस्थापन, सुशासन, गुणस्तरीय सेवा प्रवाह गर्न यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय तह सञ्चालन सम्बन्धी क्षमता विकास कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगर उपप्रमुख पार्वती शाह र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले कार्य संचालन सम्बन्धी महत्वपूर्ण सीप र ज्ञान हासिल हुने बताउनु भयो । कार्यक्रममा चितवन जिल्ला अदाल बार एसोसिएसनका अध्यक्ष गोपीलाल देवकोटा र बन्दना खाँडले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस