राष्ट्रपतिसँगै उपराष्ट्रपति बसेपछि सुरु भयो विवाद

पत्रपत्रिकाबाट

शुक्रबार, १६ चैत्र २०७४, ०८ : ००
राष्ट्रपतिसँगै उपराष्ट्रपति बसेपछि सुरु भयो विवाद

परम्परा भत्काइएको टिप्पणी  

काठमाडौं । संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ ।

विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो ।

बिहीबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति विद्यादेवी भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो ।

संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई आसन गराइएको भन्दै संसदका जानकारहरुले आश्चर्य व्यक्त गरेका छन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

एक नेताले भने,

-संसदको अभ्यास र परम्परा कानुन सरह हुन्छ ।

-एकाएक परम्परा किन भत्काइयो छक्क परेका छौं ।

संसदमा राष्ट्रपतिले सम्बोधन गर्दा उपराष्ट्रपतिलाई कसरी आसन गराउने सन्दर्भमा विगतमा संसदका महासचिव मनोहरप्रसाद भट्टराई नेतृत्वको टोलीले भारतलगायत विभिन्न देशको स्थलगत अध्ययन गरेको थियो ।

भारतमा उपराष्ट्रपतिले माथिल्लो सदनको अध्यक्षता गर्ने चलन रहेको र अन्य देशमा उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै अध्यक्षता गराउने चलन नरहेको भन्दै समितिले प्रतिवेदन तयार पारेको थियो ।

विगतका सभामुख सुवास नेम्वाङले उपराष्ट्रपतिका लागि बाल्कोनीमा विशिष्ट कुर्सी राख्न लगाएका थिए । सोहीअनुसार पूर्वउपराष्ट्रपति परमानन्द झा र वर्तमान उपराष्ट्रपति पुनले संसदमा उपस्थिति जनाउने गरेका थिए । बिहीबार भने राष्ट्रपतिसँगै उपराष्ट्रपतिलाई कुर्सी राखेर आसन गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस